CLI

सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले साढे ९ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने

काठमाडौं । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले ९ लाख ३७ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ।

आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार आयोजनाका अति प्रभावित क्षेत्रका लागि ४ लाख ६८ हजार ७ सय ५० र आयोजना प्रभावित क्षेत्रका लागि ४ लाख ६८ हजार ७ सय ५० कित्ता शेयर निष्कासनको तयारी गरिएको छ।

स्नो रिर्भस लिमिटेडद्वारा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको वडा नं ८ याम्फुदिनमा निर्माण गरिएको जलविद्युत आयोजनाले आयोजनाको अति प्रभावित क्षेत्र भन्नाले आयोजना निर्माणस्थल याम्फुदिनलाई मानेको छ।

आयोजनाको प्रभावित क्षेत्र भन्नाले सिरिजङ्गा गाउँपालिकाको वडा नं १ सिनाम, वडा नं २ आम्बेगुदिन, वडा नं ३ सिकैचा, वडा नं ४ तेल्लोक, वडा नं ५ पेदाङ, वडा नं ६ मामाङ्खे र वडा नं ७ खेवाङसहित सिदिङ्वा गाउँपालिकाको वडा नं ५ लिम्बू र वडा नं ६ मेहेले, पाथीभरा याङवरक गाउँपालिकाको वडा नं ५ चाक्सिबोटे र वडा नं ६ थुम्बेदिन र पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं १ लाई मानिएको छ।

आयोजनाका जनसम्पर्क अधिकृत ढुङ्गानाका अनुसार साधारण शेयर निष्कासनका लागि अनुमति प्राप्त भई अबको केही अवधिमै शेयर निष्कासनको सार्वजनिक आवह्वान गर्ने तयारी छ।

आयोजनाले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, बैंक खाता र डिम्याट खाता तयारी अवस्थामा राख्न आयोजनाका अति प्रभावित र प्रभावित क्षेत्रका स्थानीयलाई आग्रह गरेको छ।

उक्त साधारण शेयरका लागि पुर्याउनुपर्ने कागजात तथा प्रकृयाको सहजीकरण गरी सहयोग गरिदिन आयोजनाले स्थानीय सरकार, राजनीतिक दलका प्रतिनिधि, कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, कञ्चनजंघा उपभोक्ता समिति र टोल विकास संस्थाहरूलाई आग्रह समेत गरेको छ।

स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाबाट यसअघि नै औपचारिक रूपमा विद्युत उत्पादन सुरु भइसकेको छ।

सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभिए क्षमताको अमरपुर सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।

याम्फुदिनस्थित विद्युत गृहबाट ३१ किलोमिटर दूरीमा रहेको अमरपुर सवस्टेसनसम्मको विद्युत प्रसारण प्रणालीमार्फत सुपर काबेली‘ए’जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित भएको हो।

२०७९ साल मंसिर अन्तिम सातादेखि सुरु भएको आयोजनाको निर्माण २ अर्ब ६३ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।

यो आयोजना काम सुरु भएको छोटै अवधिमा पूरा भएको आयोजनाको रूपमा चिनिएको छ। बाढी र पहिरोले समस्या पारे पनि छोटो अवधिमै काम सम्पन्न गरेर आयोजनाले उपभोक्तामाझ ख्याति कमाएको छ।

Leave Your Comment

Related News