काठमाडौं । अमेरिकाको वासिङटन डीसीस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई गलत सूचना तथा विवरण पेस गरी देशले उपलब्ध गराउने सहुलियत नलिन आग्रह गरेको छ । बिहीबार दूतावासले एक सूचना जारी गर्दै भिसाको दुरुपयोग नगर्न अनुरोध गरेको हो ।
“विभिन्न उद्देश्यले अमेरिकामा रहनुभएका नेपाली नागरिकहरूले अमेरिकामा रहँदा गैरकानुनी तवरले वा गलत सूचना वा विवरण पेस गरी सहुलियतपूर्ण स्वास्थ्य उपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायताजस्ता कुनै पनि सुविधा/सहायतामाथि निर्भर नहुन/नगराउनुहुन, साथै बी१/बी२ भिसाको दुरुपयोग नगर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ,” नेपाली दूतावासले भनेको छ ।
अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाटलगायत सिलसिलामा अमेरिकामा रहेका कोही विदेशी नागरिकले गलत सूचना वा विवरण पेस गरी सहुलियत लिन नहुने दूतावासले स्पष्ट पारेको छ ।
त्यस्तो कार्यमा संलग्न व्यक्तिको भिसा वा ग्रीनकार्ड स्टाटसमा सोझै असर पर्ने र रद्द समेत हुने जानकारी सम्बन्धित अमेरिकी अधिकारीहरूबाट प्राप्त भएको दूतावासले जनाएको छ ।
“विभिन्न प्रयोजनमा अमेरिका गएका नेपालीहरूमध्ये सन् २०२४ मा गएकाहरूको तथ्यांकले मात्रै पनि नेपाली नागरिकहरू अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिनेहरूको माथिल्लो सूचीमा रहेका पाइएकोले नेपालीका लागि हाललाई आप्रवासी भिसा बन्द गरेको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना नै जारी गरेको छ,” नेपाली दूतावासले भनेको छ ।\
यस्तै, बी१/बी२ भिसामा अमेरिका गएका नेपालीले ‘ओभरस्टे’ गरेको र रोजगारीलगायत तोकिएको भन्दा फरक काममा संलग्न भएको पाइएको दूतावासको सूचनामा उल्लेख छ ।
यसैका आधारमा अमेरिकी सरकारले सन् २०२६ जनवरी २१ देखि लागु हुने गरी बी१/बी२ भिसा आवेदनमा पाँच हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने प्रावधान लागु गरेको दूतावासले स्पष्ट पारेको छ ।
“यस्ता कार्यले नेपालप्रति अमेरिकी सरकारको भिसा नीति थप प्रभावित हुन सक्ने हुँदा भविष्यमा अमेरिका जान चाहने नेपाली नागरिकलाई अमेरिकी भिसा प्राप्ति अझ कठिन हुन जाने र मुलुकको प्रतिष्ठामा गम्भीर नकारात्मक असर पर्न जान्छ,” दूतावासले भनेको छ ।


