काठमाडौं । सरकारले इरानमा भएका नेपालीलाई जतिसक्दो स्वदेश फर्किन भनेको छ । अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरान जान तयारी गरिरहेकाले भ्रमण स्थगित गर्न भनेको हो । मन्त्रालयले इरानमा हाल बसोबास गरिरहेका वा काम गरिरहेका नेपाली नागरिकलाई उपलब्ध सबै माध्यम प्रयोग गरी सकेसम्म छिटो स्वदेश फर्कन अनुरोध गरेको छ।
मन्त्रालयका अनुसार इरानस्थित संयुक्त राष्ट्रसंघीय कार्यालय तथा अन्य क्षेत्रमा सानो संख्यामा नेपाली नागरिक कार्यरत रहेका छन्। सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले त्यहाँ रहेका नेपालीलाई राहदानी, यात्रा अनुमति पत्र र परिचयपत्रजस्ता आवश्यक कागजातहरू सधैं तयारी अवस्थामा तथा सजिलै प्राप्त हुने स्थानमा राख्न निर्देशन दिएको छ।
उद्धार वा आकस्मिक बहिर्गमन आवश्यक परेमा यस्ता कागजात अनिवार्य हुने भएकाले पूर्वसतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ। साथै, थप जानकारी, समन्वय वा सहयोग आवश्यक परेमा काठमाडौंस्थित परराष्ट्र मन्त्रालय वा कतारको दोहास्थित नेपाली दूतावासमा सम्पर्क गर्नसमेत नेपाली नागरिकलाई अनुरोध गरिएको छ।


