काठमाडौं । सन् २०२६ को सुरुआती महिनामै नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनले उत्साहजनक संकेत दिएको छ । जनवरी महिनामा मात्र ९२ हजार ५७३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १५.७ प्रतिशतले बढी हो ।
नेपाल पर्यटन बोर्डका अनुसार कोभिड–१९ महामारीअघिको सन् २०१९ को जनवरीसँग तुलना गर्दा समेत पर्यटक आगमन १४ प्रतिशतले वृद्धि भएको देखिन्छ । यसले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल क्रमशः पुनःस्थापित हुँदै गएको संकेत गरेको बोर्डले जनाएको छ ।
जनवरी महिनाको तथ्यांकअनुसार नेपाल आउने पर्यटकमध्ये भारत शीर्ष स्थानमा रहेको छ । भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन्, जसले कुल आगमनको २८.८ प्रतिशत हिस्सा ओगटेको छ । भारतपछि चीनबाट ९ हजार १०१, संयुक्त राज्य अमेरिकाबाट ८ हजार ४०६, बंगलादेशबाट ५ हजार ८१४ र अस्ट्रेलियाबाट ४ हजार ९५७ पर्यटक नेपाल आएका छन् ।
क्षेत्रगत रूपमा विश्लेषण गर्दा दक्षिण एसियाली मुलुक (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका छन् । अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक आगमन भएको छ । यस्तै, मध्यपूर्वबाट १ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन् भने अन्य क्षेत्रको हिस्सा ४.५ प्रतिशत रहेको छ ।
खर्चालू पर्यटकको सूचीमा अग्रस्थानमा रहेको संयुक्त राज्य अमेरिकाबाट मात्र एक महिनामा करिब ८ हजार ४ सय पर्यटक नेपाल भित्रिएको तथ्यांकले देखाएको छ ।


