काठमाडौं । निक्षेपमा पाइने ब्याजदर कम हुँदै गएपछि सामूहिक लगानी कोषहरुले सेयर बजारमा लगानी बढाएका छन् ।
बैंकको ब्याज भन्दा धेरै प्रतिफल सेयर बजारबाट प्राप्त गर्न सकिने भएपछि फन्डहरुले मार्केटमा लगानी बढाएका हुन् । त्यसैले फन्डहरुको बैंक मौज्दात घटेको छ । चालु आर्थिक वर्षको पुससम्म आइपुग्दा म्युचुअल फन्डहरु बैंक मौज्दातमा १० अर्ब १७ करोड रुपैयाँ जम्मा रहेको छ । यो अघिल्लो महिना अर्थात, मंसिरको भन्दा ९.७१ प्रतिशत कम हो । मंसिरमा फन्डहरुले बैंकमा ११ अर्ब २६ लाख निक्षेप जम्मा गरेका थिए ।
जसमध्ये, एचएलआई लार्ज क्याप फन्डको बैंक मौज्दातमा सबैभन्दा धेरै २ अर्ब ४ करोड रुपैयाँ जम्मा रहेको छ । यो अघिल्लो महिनाको भन्दा ७.६७ प्रतिशत कम हो । अघिल्लो महिना यस फन्डले बैंकमा २ अर्ब २१ करोड जम्मा गरेको छ । त्यस्तै, एनआइबिएल सहभागिता फन्डको बैंक मौज्दातमा ८५ करोड ३९ लाख, आरबीबी फोकस ४० मा ८२ करोड ९३ लाख, एनएमबि सरल बचत फन्ड-इको ३४ करोड ८१ लाख रुपैयाँ बचत छ ।
म्युचुअल फन्डहरुले बैंक तथा वित्तीय संस्थामा राखेको रकम घटाउँदै सेयर बजारमा लगानी बढाइरहेका छन् । बैंकमा बचत राखेको रकम घट्दै जानु र सेयर बजारमा कारोबार तथा लगानीको आकार बढ्नुले बजारको मनोविज्ञान बदलिँदै गएको संकेत गर्ने बजार विश्लेषकहरु बताउँछन् । बैंकको ब्याजदर क्रमशः घट्दै गएपछि म्युचुअल फन्ड व्यवस्थापकहरु नयाँ अवसरको खोजीमा लागेका छन् ।
पहिले सुरक्षित मानिने फिक्स्ड डिपोजिट अहिले कम प्रतिफल दिने साधनका रुपमा सीमित हुन थालेको छ । यही कारणले बैंकमा राखिएको रकमले अपेक्षित प्रतिफल नदिने ठहर गर्दै फन्डहरुले उक्त पुँजीलाई सेयर बजारतर्फ मोड्न थालेका छन् ।
अर्कोतर्फ, लामो समयदेखि सेयर बजार ओरालो लागेको थियो । यस्तो अवस्थामा भविष्यमा राम्रो प्रतिफल प्राप्त हुने अपेक्षासहित म्युचुअल फन्डहरु सक्रिय रुपमा सेयर खरिद गरिरहेका छन् । फन्ड म्यानेजरहरुका अनुसार यस्तो समय दीर्घकालीन लगानीका लागि उपयुक्त मानिन्छ ।
साथै, लगानीमैत्री संकेतहरु देखिनुले फन्डहरुलाई बैंकमा पैसा थन्क्याएर राख्नुभन्दा बजारमा लगानी गर्न हौसला दिएको छ । म्युचुअल फन्डको मूल उद्देश्य नै जोखिम व्यवस्थापन गर्दै उच्च प्रतिफल खोज्नु भएकाले उनीहरु सक्रिय लगानीतर्फ उन्मुख हुनु स्वाभाविक मानिन्छ ।
विश्लेषकहरुका अनुसार म्युचुअल फन्डको सेयर बजार प्रतिको बढ्दो उपस्थितिले बजारमा विश्वास बढाउन सक्छ । ठूला र संस्थागत लगानीकर्ताको सहभागिताले बजारमा स्थिरता र गहिराइ ल्याउने अपेक्षा गरिएको छ ।



