काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनर्संरचना गर्न गठन भएको अध्ययन समितिले नेप्सेको चुक्ता पुँजी समसामयिक वृद्धि गर्नु आवश्यक रहेको बताएको छ । अध्ययन समितिले बुझाएको १२६ पृष्ठ सुझावसहितको प्रतिवेदन अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो ।
प्रतिवेदनले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ ले ३ अर्बको चुक्ता पुँजी र १ अर्बको मात्र लगानी पुँजीले नेप्सेले आफनो उद्देश्य अनुरुप काम गर्न सक्ने स्थिति नहुने बताएको छ । जसले गर्दा उक्त पुँजी सुधार गरी नेप्सेले उद्देश्य अनुरुप काम गर्नु आवश्यक रहेको बताइएको छ ।
‘धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ ले दोस्रो बजार सञ्चालकको निमित्त ३ अर्बको चुक्ता पुँजी राख्नुपर्ने व्यवस्था गरेको छ । दोस्रो बजार सञ्चालक संस्थाले पुन्याउनुपर्ने सेवाको प्रकृति त्यस्ता सञ्चालकहरूलाई सेवा पुराउन चाहिने प्रविधिको प्रयोग साथै अन्य क्षेत्रमा गर्नुपर्ने लगानीको परिमाण आदिलाई मध्यनजर गरी नियामकीय निकायले दोस्रो बजार सञ्चालकको निमित्त ३ अर्बको चुक्ता पुँजी राख्नुपर्ने व्यवस्था गरेको पाइन्छ । नेप्सेको सम्बन्धमा उक्त व्यवस्था धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ ले उन्मुक्ति दिएको छ । तर यसबाट एउटा दोस्रो बजार सञ्चालकका रुपमा नेप्सेले पुराउनुपर्ने सेवा तथा दायित्वमा कुनै सिमितता ल्याउने अवस्था देखिँदैन,’ प्रतिवेदनमा भनिएको छ ।
‘अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न नेप्सेले समेत विकसित – आधुनिक दोस्रो बजार सञ्चालकले पु–याउनुपर्ने सम्पूर्ण सेवा सुविधा पुराउने दायित्व वहन गर्नुपर्ने हुन्छ । यसको लागि आगामी दिनहरूमा नेप्सेले आफ्ना प्रविधि, मानव संशाधन, भौतिक पुर्वाधार, अनुसन्धान तथा विकास, सेवा विस्तार, सेवासँग सम्बन्धि सहायक संस्थाहरूको स्थापना तथा विकास आदिमा निरन्तर रुपमा उल्लेख्य लगानी गर्नुपर्ने देखिन्छ । नेप्सेको हालको वित्तीय विवरणअनुसार केवल १ अर्बको मात्र पुँजी लगानी भएको देखिन्छ । यो पुँजी आगामी दिनहरूमा नेप्सेलाई आफ्नो उद्देश्यमा अघि बढ्न पर्याप्त देखिँदैन । अतः यसमा समसामयिक रुपले वृद्धि गर्नु जरुरी देखिन्छ ,’ प्रतिवेदनमा भनिएको छ ।
नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गठित समितिले प्रतिवेदन तयार गरेको हो ।
पुँजी वृद्धिका तीन विकल्पहरु
- अवितरित मुनाफालाई बोनस सेयर जारी गरी पुँजीकरण गर्नु
पुँजी वृद्धिको विभिन्न विकल्पहरू मध्ये संस्थासँग जगेडा रहेको अवितरित मुनाफालाई बोनस सेयर जारी गरी पुँजीकरण गर्नु सबैभन्दा सरल विकल्प मानिन्छ । नेप्सेको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणमा रु. २ अर्ब १७ करोड संचित मुनाफा र रु. १ अर्ब ९५ करोडको जगेडा कोष गरी जम्मा रु. ४ अर्ब १२ करोडको सञ्चित कोष रहेको देखिन्छ । धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ ले दोस्रो बजार सञ्चालकको निमित्त रु. ३ अर्बको पुँजी राख्नुपर्ने व्यवस्था राखेको सन्दर्भमा नेप्सेले समेत आफ्नो सञ्चिति कोपलाई बोनस सेयर जारी गर्न उपयोग गरेको खण्डमा उक्त नियमावली अनुसारको रु. ३. अर्बको पुँजीको प्रावधान सहजताका साथ पूरा गर्नसक्ने देखिन्छ । बोनस सेयर जारी गरी पुँजी वृद्धि गर्नुपूर्व रणनीतिक साझेदारका सम्बन्धमा स्पष्ट हुन जरुरी देखिन्छ ।
प्रस्तुत विकल्पबाट विद्यमान सेयरधनीहरूले थप रकम लगानी नगरी सहजताका साथ पुँजी वृद्धि गर्न सकिने अवस्था रहन्छ भने संस्थाको सेवा विस्तार गर्न आवश्यक पर्ने थप रकम परिचालन भने हुँदैन ।
2.पुँजी रकम बराबर हकप्रद सेयर जारी गरी पुँजी जुटाउनु
पुँजी वृद्धिको अर्को विकल्प संस्थालाई चाहिने पुँजी रकम बराबर हकप्रद सेयर जारी गरी पुँजी जुटाउनु रहेको छ । यसका लागि विद्यमान सेयरधनीहरूले संस्थालाई आवश्यक पर्ने पुँजी बराबरको रकम आ– आफ्नो स्वामित्व अनुपात अनुरूप संस्थामा थप लगानी गर्नुपर्ने हुन्छ ।
प्रस्तुत विकल्पबाट संस्थाको सेवा विस्तार गर्न आवश्यक पर्ने थप रकम परिचालन हुने अवस्था रहन्छ भने अर्कोतर्फ विद्यमान सेयरधनीहरूले थप रकम लगानी गर्न नचाहने सम्भावना समेत रहन्छ । यस विकल्पको कार्यान्वयन कार्ययोजना देहायबमोजिम रहेको छः
3.थप नयाँ सेयर जारी गरी पुँजी जुटाउनु
पुँजी वृद्धिको अर्को विकल्प संस्थालाई चाहिने पुँजी रकम बराबर थप नयाँ सेयर जारी गरी पुँजी जुटाउनु रहेको छ । यसका लागि संस्थालाई आवश्यक पर्ने पुँजी बराबरको रकम नयाँ लगानीकर्ताहरूलाई थप सेयर जारी गरी जुटाउनुपर्ने हुन्छ ।
प्रस्तुत विकल्पबाट संस्थाको सेवा विस्तार गर्न आवश्यक पर्ने थप रकम प्रिमियम सहित परिचालन हुनुका साथै यसबाट संस्थामा नयाँ लगानीकर्ताहरू (रणनीतिक साझेदार, संगठित संस्था, सर्वसाधारण) भित्रिने अवस्था रहन्छ भने अर्कोतर्फ यसबाट विद्यमान स्वामित्व संरचनामा समेत परिवर्तन हुन्छ ।






