काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको निष्क्रिय कर्जा दर (एनपीएल) औसत १३.३४ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुको औसत एनपीएल १२.४८ प्रतिशत रहेको थियो ।
वित्तीय विवरण अनुसार फाइनान्सहरुको एनपीएल अघिल्लो वर्षको तुलनामा बढेको देखिएको छ । हाल केही फाइनान्सहरुको एनपीएल ३.५१ प्रतिशतमा सीमित रहे पनि केहीको भने ५५.२६ प्रतिशतसम्म पुगेको छ । केही कम्पनीमा अत्यधिक र केहीमा न्यून एनपीएल रहेकाले समग्र औसत १३.३४ प्रतिशत पुगेको देखिन्छ ।
विज्ञहरुका अनुसार आर्थिक गतिविधिमा आएको सुस्तता, व्यवसायिक कर्जा प्रवाह कमजोर हुनु, रियल स्टेट तथा व्यापार क्षेत्रमा कर्जा असुली प्रभावित हुनु तथा ऋणीहरुको नगद प्रवाह कमजोर हुनु एनपीएल बढ्नुका प्रमुख कारण हुन् । त्यसैगरी, पुराना कर्जाको पुनर्संरचना तथा पुनःतालिकीकरणपछि पनि असुली अपेक्षाअनुसार नहुनुले फाइनान्स कम्पनीहरुको कर्जा गुणस्तरमा दबाब परेको बताइन्छ ।
यता, साना तथा मध्यम व्यवसायमा केन्द्रित फाइनान्स कम्पनीहरुमा जोखिम बढी देखिएको छ । जसमध्ये सबैभन्दा धेरै एनपीएल हुनेमा जानकी फाइनान्स रहेको छ । यसको एनपीएल ५५.२६ प्रतिशत छ । गत वर्षको पुसमा यस कम्पनीको निष्कृय कर्जा अनुपात ४०.८८ प्रतिशत थियो ।
पोखराको एनपीएल २५.१० प्रतिशत, गोर्खाजको १७.४६ प्रतिशत, नेपाल फाइनान्सको १६.४३ प्रतिशत, सेन्ट्रल फाइनान्सको १४.१८ प्रतिशत र बेष्ट फाइनान्सको एनपीएल १३.८७ प्रतिशत छ । सूचीकृत ६ वटा फाइनान्सको एनपीए १० प्रतिशत भन्दा धेरै छ । रिपोर्ट अनुसार आइसीएफसी फाइनान्सको एनपीएल ३.५१ प्रतिशत छ । मञ्जुश्रीको ३.६४ प्रतिशत र श्री इन्भेष्टमेन्टको उक्त दर ३.८३ प्रतिशत छ ।



