काठमाडौं । भविष्यलाई भाग्यमा होइन, बिमाले सुरक्षित गर्नुपर्छ भन्ने मान्यतालाई जीवनको मूल दर्शन बनाएकी दिल माया तामाङ आज नेपाली समाजमा वित्तीय साक्षरताको एक शान्त तर प्रभावशाली अभियानको नाम बनेकी छन्। धेरैका लागि बिमा अझै पनि जटिल प्रक्रिया, ठूलो प्रिमियम र सम्पन्न वर्गका लागि मात्र सीमित विषयजस्तो देखिन्छ। तर यही भ्रम चिर्दै समाजका हरेक तह, वर्ग र समुदायसम्म बिमाको वास्तविक अर्थ र महत्व पुर्याउने अभियानमा उनी निरन्तर लागिरहेकी छन्।
उनका लागि बिमा केवल वित्तीय उत्पादन होइन, चेतनाको विषय हो। एउटा दुर्घटना, रोग वा अकाल मृत्युले कसरी सिंगो परिवारलाई आर्थिक रूपमा दशकौँ पछाडि धकेल्न सक्छ भन्ने अनुभव र बुझाइले उनलाई यो क्षेत्रमा समर्पित बनाएको छ। उनी स्पष्ट शब्दमा भन्छिन् बिमा विलासिता होइन, करकाप होइन, यो जीवनको आधार हो। आर्थिक सुरक्षाको आधारशिला बिना आत्मनिर्भर समाज सम्भव छैन भन्ने विश्वास उनको अभियानको केन्द्रमा छ।
सिन्धुली जिल्लाको मरीन झाडीमा जन्मिएकी दिल माया आर्थिक र शैक्षिक सीमाबीच हुर्किइन्। त्यतिबेला पढाइ आजको जस्तो सहज थिएन। विद्यालयसम्म पुग्नुपर्ने दूरी, सीमित साधन र पारिवारिक अवस्थाले उनलाई बारम्बार चुनौती दियो। तर जीवनले कोरेको सीमालाई चेतनाको शक्तिले जित्न सकिन्छ भन्ने विश्वासले उनलाई अघि बढायो। कठिनाइका बाबजुद उनले पढाइलाई निरन्तरता दिइन् र अहिले स्नातक तहको अध्ययन पूरा गर्ने चरणमा छिन्।
कोभिड–१९ को महामारीले संसारलाई अनिश्चिततामा धकेलेको बेला उनले बिमा क्षेत्रमा प्रवेश गरिन्। त्यो समय केवल पेशागत परिवर्तनको क्षण मात्र थिएन, जीवनप्रतिको दृष्टिकोण बदलिने मोड पनि थियो। सुरुवातमा उनलाई बिमा के हो, यसको फाइदा के हो भन्ने विषयमा खासै जानकारी थिएन। लकडाउनका दिनहरूमा जूम मिटिङमार्फत बिमाबारे सुन्दै जाँदा उनले पहिलो पटक बिमालाई आफ्नो जीवनसँग जोडेर बुझ्न थालिन्।
त्यही क्रममा उनले आफूले कमाएको सानो आम्दानीबाट बिमा गर्दा आमाबुबालाई हकदार बनाउन सकिने कुरा थाहा पाइन्। “भोलि मलाई केही भइहाल्यो भने मेरो बिमाको रकम बुवा–आमाले पाउनुहुन्छ,” भन्ने सोचले उनलाई गहिरो रूपमा छोयो। त्यस क्षणदेखि बिमा उनको लागि केवल कागजी सम्झौता रहेन, पारिवारिक जिम्मेवारी र प्रेमको प्रतीक बन्यो। यही भावनात्मक बुझाइले उनलाई बिमाप्रति सकारात्मक बनायो र यो क्षेत्रलाई समाज परिवर्तनको माध्यमका रूपमा हेर्न सिकायो।
बुझ्दै जाँदा उनले बिमालाई एउटा जीवन पद्धतिका रूपमा स्वीकार गरिन्। बचत गर्ने बानी बसाल्ने, जोखिमको सुरक्षा गर्ने, आवश्यक पर्दा कर्जाको सुविधा दिने र दीर्घकालीन योजना बनाउन सहयोग गर्ने यस्तो संयन्त्र उनले अरू कतै देखेकी थिइनन्। उनका अनुसार बिमाले मानिसलाई अनुशासनमा बाँधेर जीवनलाई सहज बनाउँछ। यही बुझाइले उनलाई अरूलाई पनि यो ज्ञान बाँड्नुपर्छ भन्ने निष्कर्षमा पुर्यायो र उनी बिमा अभिकर्ता बन्न पुगिन्।
उनका लागि अरूलाई बुझाउनु भनेको व्याख्या गर्नु मात्र होइन, आफैं उदाहरण बन्नु हो। “अरूलाई खोलाको गहिराइ बुझाउन चाहने हो भने पहिले आफैं खोलामा पसेर अनुभव गर्नुपर्छ,” भन्ने सोचका साथ उनले आफ्नै जीवन बिमा गरिन्। आफू बिमित भएर मात्रै विश्वास जित्न सकिन्छ भन्ने मान्यताले उनलाई अझ जिम्मेवार बनायो।
आज दिल माया तामाङको अभियान सहरका सीमामा सीमित छैन। उनी गाउँका किसान, मजदुर, घरेलु महिला, साना व्यवसायी, एकल महिला, बाटोमा मकै बेच्ने महिला र वैदेशिक रोजगारीमा जाने युवासम्म पुगेर बिमाको महत्व बुझाइरहेकी छन्। धेरैले “बचत छैन” भन्दै बिमाबाट टाढा भाग्ने गरेको देख्दा उनी सोच परिवर्तन आवश्यक रहेको बताउँछिन्। सानो रकमबाट पनि बिमा सुरु गर्न सकिन्छ भन्ने सन्देश उनी निरन्तर दिन्छिन्।
उनको बुझाउने शैली सरल र जीवनसँग जोडिएको छ। मोटरसाइकल किन्दा बिमा अनिवार्य हुन्छ भने, हाम्रो अमूल्य जीवनलाई बिना बिमा उपेक्षित गर्नु बुद्धिमानी हो त? यही प्रश्नले उनले धेरै मानिसको सोच बदल्न सफल भएकी छन्। बिमा बेच्नु उनको लक्ष्य होइन, चेतना बाँड्नु उनको ध्येय हो।
उनको काम केवल बिमाको फाइदासम्म सीमित छैन। उनी आय–व्यय व्यवस्थापन, बचतको बानी, जोखिम व्यवस्थापन र दीर्घकालीन योजना जस्ता विषयमा खुलेर कुरा गर्छिन्। आर्थिक रूपमा आत्मनिर्भर नभएसम्म मानिस साँच्चिकै स्वतन्त्र हुन सक्दैन भन्ने विश्वासका साथ उनले बिमालाई आत्मनिर्भरताको पहिलो खुड्किलोका रूपमा प्रस्तुत गर्दै आएकी छन्।
अरूलाई सिकाउनुअघि आफू उदाहरण बन्नुपर्छ भन्ने मान्यताअनुसार उनले आफैं करिब एक करोड रुपैयाँ बराबरको जीवन बिमा गरेकी छन्। यसले उनको प्रतिबद्धता र विश्वासलाई अझ मजबुत बनाएको छ। बिमा बाहेक, उनले महिलालाई लक्षित गर्दै तामाङ पहिरन उत्पादनको सानो उद्योग पनि सञ्चालन गरेकी छन्। मौलिक संस्कृतिको जगेर्नासँगै बच्चा भएका महिलालाई रोजगारी दिने उद्देश्यले सुरु गरिएको यस उद्योगमा अहिले १०–१२ जना महिला कार्यरत छन्, जसले उनको सामाजिक सोच र मानवीय संवेदनशीलतालाई स्पष्ट देखाउँछ।
उनका अनुसार बिमा व्यवसाय इमान्दारिता र विश्वासमा आधारित हुनुपर्छ। ग्राहकको आय, परिवारको अवस्था र आवश्यकताबिना बिमा गराउनु गलत हो भन्ने कुरामा उनी दृढ छिन्। एक पटक विश्वास टुटेपछि यो पेशा नै समाप्त हुने भएकाले आफू यस विषयमा अत्यन्त सजग रहेको उनी बताउँछिन्।
केही वर्षअघि विवाह बन्धनमा बाँधिएकी दिल मायाकी अहिले १६ महिनाकी छोरी छिन्। आमा बनेपछि बिमाको महत्व उनले अझ गहिरो रूपमा महसुस गरेकी छन्। बच्चाको भविष्यलाई “जे होला होला” भन्दै भाग्यमा छोड्ने प्रवृत्तिप्रति उनी असहमत छिन्। उनको धारणा स्पष्ट छ,जुन जोखिमको समाधान सजिलै सम्भव छ, त्यसमा भाग्यवादी हुनु हुँदैन। “जोखिमलाई भाग्यमा नछोडौँ, बिमाले सुरक्षित गरौँ,” भन्ने सन्देश उनको जीवन दर्शन बनेको छ।
छोरीलाई काखमा लिएर भविष्यतर्फ हेर्दा, आफूले बिमा गरेर मात्र होइन, बिमा अभियन्ताको रूपमा धेरै परिवारलाई जोखिमबाट सुरक्षित बनाउन पहल गरेकोमा उनलाई धेरै गर्व लाग्छ। उनका लागि बिमा व्यवसाय होइन बरु आत्मनिर्भर, सुरक्षित र सचेत समाज निर्माणतर्फको निरन्तर यात्रा हो।


