काठमाडौं । काठमाडौँ महानगरपालिकाले सहकारी संस्थाले बहालमा लिएका घर तथा कोठा खाली गराउने सम्बन्धमा जरुरी सूचना प्रकाशित गरेको छ । महानगरको न्यायिक समितिको निर्णय कार्यान्वयनका क्रममा उक्त सूचना सार्वजनिक गरेको हो ।
सूचनाअनुसार न्यायिक समितिबाट घर–कोठा खाली गर्ने निर्णय भएका सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौँ महानगरपालिका, कानुन तथा मानव अधिकार विभागमा सम्पर्क गर्नुपर्नेछ ।
तोकिएको समयभित्र सम्पर्क नगरेमा सम्बन्धित सहकारीले बहालमा लिएका घर–कोठा न्यायिक समितिको निर्णयअनुसार खाली गराइने महानगरले जनाएको छ।
घर–कोठा खाली गराउँदा सहकारी कार्यालयका सामानहरू सम्बन्धित घरधनीको जिम्मामा दिइने र पछि सहकारीको सम्पत्ति तथा सरसामानसम्बन्धी कुनै दाबी–विरोध नलाग्ने व्यहोरा समेत सूचनामार्फत जानकारी गराइएको छ।
महानगरपालिकाले सार्वजनिक गरेको सूचीअनुसार आशा बचत तथा ऋण सहकारी संस्था, नव सवल सहकारी, युनिफाईड बचत तथा ऋण सहकारी, महाबौद्ध बचत तथा ऋण सहकारी, ग्रेट गंगासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, सुन्ताखाल बचत तथा ऋण सहकारी, प्रारम्भिक बचत तथा ऋण सहकारी र ग्रेट गंगासागर बचत सहकारीले बहालमा लिएका घर–कोठा खाली गर्नुपर्ने उल्लेख छ।



