काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले बिहीबार, माघ २२ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो । होटलले आफ्नो जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात, ४० करोड रुपैयाँ बराबरको प्रतिसेयर कित्ता अंकित मूल्य १०० रुपैयाँ दरको ४० लाख कित्ता साधारण सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये, ४ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि बिक्री गरिसकेको छ । यता, २ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र ८० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुलाई छुट्याएर बाँकी रहेको ३३ लाख २० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
यो निष्कासन बन्द छिटोमा माघ २६ गते हुनेछ भने ढिलोमा फागुन ८ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कस्तो छ रेटिङको अवस्था ?
क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले होटललाई “IRN-BB- (Is)” “[Double B Minus (Issuer) ] ” प्रमाणपत्र प्रदान गरेको छ । जसले Moderate risk of default regarding timely servicing of financial obligations भन्ने जनाउँछ ।

कति कित्ताका लागि दिने आवेदन ?
होटल फरेष्ट इनको सेयर पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि ३३ लाख २० हजार कित्ता मात्र सेयर निष्कासन गरेको छ । १० कित्ताका दरले आइपीओ बाँडफाँट गर्दा ३ लाख ३२ हजार जनाले मात्र सेयर हात पार्नेछन् । यसआधारमा हेर्ने हो भने यो आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
कम्पनी सम्बन्धी विवरण
होटल फरेष्ट इन लिमिटेड, कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित भएको कम्पनी हो । संस्थाको रजिष्टर्ड कार्यालय र कम्पनीको कारोबार गर्ने मुख्य स्थान काठमाण्डौ जिल्ला बूढानिलकण्ठ न.पा.वडा नं. १ मा रहेको छ ।
संगठित संस्थाको स्थापनाकालदेखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरुः
होटल फरेष्ट इन लिमिटेड प्रचलित कानुन बमोजिम २०६७ साल मंसिर महिनाको ६ गते होटल फोरेष्ट रिर्सोट प्रा.लि.को नामबाट दर्ता भएको थियो । पछि २०८० साल भाद्र १२ गतेदेखि पब्लिक कम्पनीको रुपमा परिणत भएको हो । यसलाई होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न २०७३ असोज २५ गते नेपाल सरकार, उद्योग विभागबाट स्वीकृति प्राप्त भएको हो । साथै, कम्पनी रजिष्ट्रार कार्यालयबाट २०८० असोज २ गते कारोबार स्वीकृति प्राप्त गरेको हो ।
यता, नेपाल सरकार, पर्यटन विभागबाट पर्यटन ऐन, २०३५ तथा होटल, लज, रेष्टुराँ, तथा रिर्सोट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ मा व्यवस्था भए अनुसारको प्रावधान पूरा गरी २०८१ आश्विन २३ गते पाँच तारे होटलको वर्गीकरणसहित होटल सञ्चालनको इजाजतपत्र प्राप्त गरेको छ ।
होटल फरेष्ट इन लिमिटेड आंशिक रुपमा २०८१ साल श्रावण १ गतेदेखि ३९ ओटा कोठा, २०८१ साल पौष २५ गतेदेखि २७ ओटा कोठा र २०८१ साल चैत्र २५ गते देखि ३८ ओटा कोठा गरी हाल जम्मा १०४ ओटा कोठा संचालनमा रहेका छन् ।
धितोपत्र जारी गर्नुको उद्देश्य :
यस कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीले आफ्नो जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात, ४० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने, सर्वसाधारण समूहमा छुट्टाइएको सेयरबाट प्राप्त रकम परियोजना निर्माण गर्न प्रयोग गरिएको ऋण भुक्तानी गर्न, तथा व्यवसायको निरन्तरताका लागि उपयोग गर्न कम्पनीले आइपीओ जारी गर्न लागेको हो ।

वित्तीय अवस्था
कम्पनीको अधिकृत पुँजी र जारी पुँजी २ अर्ब रुपैयाँ रहेको छ । यसको हालको चुक्ता पुँजी १ अर्ब ६० करोड छ । कम्पनीले आर्थिक वर्ष २०८४–८५ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त समयसम्म आइपीओ बिक्रीपछि कायम हुने २ अर्ब रुपैयाँ पुँजी नै यथावत् रहनेछ ।
गत आर्थिक वर्षमा कम्पनीले १७ करोड १९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२-८३ को अन्त्यसम्ममा ११ करोड ९१ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, २०८३—८४ मा १३ करोड ५० लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर नेटवर्थ ९४.३२ रुपैयाँ कायम हुने प्रक्षेपन छ । गत वर्ष यसको नेटवर्थ ९०.६५ रुपैयाँ छ ।

आइपीओ निष्कासनपछि संस्थापक सेयरधनीको हिस्सा ८० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा २० प्रतिशत रहनेछ । कम्पनीको अध्यक्ष बिनिता थापा छिन् ।



