काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्यालले उद्घाटन गर्दै विकसित देशमा खेलकुदलाई देशको अर्थतन्त्र बृद्धिको पाटोका रुपमा लिइने धारणा व्यक्त गर्दै जित÷हार भन्दापनि माथि उठेर सहभागीलाई खेल भावन प्रदर्शन आग्रह गरे ।
राखेपका सदस्य–सचिव रामचरित्र मेहताले विश्वविद्यालय खेलकुदको आकर्षण बढ्दै गएको बताउदै आगामी दिनमा प्रतियोगिता अझ भब्य रुपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रतियोगिता आयोजना गर्न सहकार्य गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै धन्यवाद दिए ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले खेलकुद राष्ट्रिय एकताको प्रतिक भएको बताउदै खेलकुदले राष्ट्रिय गौरव अभिबृद्धि गर्ने कार्यमा महत्वूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
राखेप कार्यकारी समितिका सदस्य एवं प्रतियोगिता संयोजक कमलबहादुर भट्टराईले तेश्रो संस्करणसम्म आइपुग्दा विश्वविद्यालय खेलकुदको दायरा फराकिलो बन्दै गएको बताए । नेपालय इन्टरनेसनल प्रा.लि. का अध्यक्ष सुवासचन्द्र प्रधानले खेलकुदसंगको सहकार्य १० वर्ष पूरा भएको स्मरण गर्दै ग्रासरुट तहदेखि खेलकुदको विकास हुनु पर्छ भन्ने उद्देश्यसाथ नेपालयले राखेपसंग यु–१४ विद्यालय खेलकुदमा सहकार्य गरिसकेको बताए । उनले राष्ट्रपति रनिङ सिल्डमा पनि राखेपसंगको सहकार्यले निरन्तरता पाउने बताए ।
काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनल प्रालिको सहआयोजना तथा केआइईस एजुकेसन कन्सल्टेन्सीको प्रायोजनमा भइरहेको प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, बास्केटबल (थ्री बाइ थ्री) र भलिबल गरी ५ खेल समावेश छन् । दुईदिने प्रतियोगितामा विभिन्न ९ विश्वविद्यालयबाट २ सय ७९ खेलाडी सहभागी छन् । भलिबलमा भने छात्रतर्फ मात्र प्रतिस्पर्धा हुनेछ ।
विश्वविद्यालयमा अध्ययनरत २८ वर्षमुनिका विद्यार्थीलाई लक्षित गरिएको प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र २७ कांस्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । निर्णायकको तर्फबाट टेबलटेनिसका पूर्व राष्ट्रिय च्याम्पियन शिवसुन्दर गोथे र खेलाडीको तर्फबाट दिपेन्द्र अवस्थीले शपथ ग्रहण गरेका थिए । उद्घाटनका अवसरमा राखेपका सदस्य मधुसुदन सुवेदी, नन्दा बस्याल, सन्तकुमार मेहता, रामचन्द्र श्रेष्ठ, जगत टमाटा र कुमार लामा घिसिङ, काठमाडौं विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण निर्देशनालयका का.मु. निर्देशक डा. गोकुल केसी, प्रायोजक केआइईसका संस्थापक प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रिजाल, नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, विभागीय प्रमुख, शाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
थ्री अन थ्री बास्केटबलमा त्रिभूवन विश्वविद्यालयले दोहोरो उपाधि जितेको छ । त्रिभूवन पुरुष/महिला दुवैमा च्याम्पियन बन्यो । पुरुषको फाइनलमा त्रिभूवनले पूर्वाञ्चाल विश्वविद्यालयलाई २१–९ ले पराजित ग¥यो । महिलाको उपाधि भिडन्तमा त्रिभूवनले काठमाडौं विश्वविद्यालयलाई १५–४ ले हरायो । पुरुषमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तथा महिलामा पूर्वाञ्चलले तेश्रो स्थानमा चित्त बुझाए । टेबलटेनिसको पुरुष सिंगल्समा त्रिभूवन विश्वविद्यालयका हिमाल विष्ट र सुजन गडाला, पूर्वाञ्चल विश्वविद्यालयका श्रृजल सुवाल तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका आयुश बम सेमिफाइनलमा पुगे । सोही स्पर्धाको महिलामा त्रिभूवनकी वियंका राई र योङ्गी पौडेल तथा काठमाडौं विश्वविद्यालयका आस्मा पाण्डे र स्वस्ती प्रधानले सेमिफाइनल यात्रा तय गरे ।
ब्याडमिन्टनको पुरुष सिंगल्समा त्रिभूवनका क्षितिज खनाल, नरेन्द्र बम, त्रिभूवनका दिप्रिस वज्राचार्य र काठमाडौंका श्रीलंकाली थनु सिक्का गुना ओर्डेना सेमिफाइनलमा पुग्न सफल भए । त्यसै स्पर्धाको महिलामा त्रिभूवनका रशिला महर्जन र भुवन खेडान तथा काठमाडौंकी प्रसुना खत्री र विपिकाले सेमिफाइनलमा स्थान बनाए ।
पुरुष भलिबलमा काठमाडौंले लुम्बिनी बुद्ध विश्वविद्यालयलाई ३–१, मध्यपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमाञ्चललाई ३–० तथा त्रिभूवनले गण्डकी विश्वविद्यालयलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुगे । पूर्वाञ्चलले कृषिलाई ३–१ ले हराउदै क्वाटरफाइनलमा पुग्यो ।


