CLI

सामाजिक सद्भाव र सहअस्तित्व प्रवर्द्धनमा गृहमन्त्रीको जोड

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्वको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा काठमाडौँको राष्ट्रियसभागृहमा आयोजित प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी जनजाति ज्ञान सम्मेलनमा उनले सरकार संविधानको मर्मअनुरुप समावेशी सिद्धान्त कार्यान्वयन गराउन कटिबद्ध रहेको बताए ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री अर्यालले नेपालको संविधानले परिकल्पना गरेको समावेशी भावलाई वास्तविक अर्थमा सरकारले लागू गर्दै आएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिने उल्लेख गरे । नेपालको संविधानले आदिवासी जनजातिको अधिकार सुनिश्चित गरेको बताउँदै उहाँले सबै समुदायको अधिकार संरक्षण गर्ने दायित्व सरकारले निभाउँदै आएको प्रष्ट पारे ।

“राज्यको नीतिनिर्माण तहमा सबै समुदायको सहभागिता वृद्धि गर्न सरकार निरन्तर अग्रसर छ”, गृहमन्त्रीले भने, “समानुपाति समावेशी सिद्धान्त संविधानको मूल मर्म हो । यसलाई बचाउनु सबैको कर्तव्य हो ।”

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विकास र समृद्धिको काम गर्दा सरकारले आदिवासी जनजातिको सांस्कृतिक, भाषिक, भौतिक ज्ञानको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले आदिवासी जनजातिको पुख्र्यौली ज्ञान, सीपको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

Leave Your Comment

Related News