काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले बुधबार, माघ २८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात्, २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये, ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि बाँडफाँड गरी सकिएको छ ।
त्यस्तै, १ लाख ४२ हजार २०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि बिक्री भइसकेको छ । साथै, २८ हजार ४४० कित्ता सेयर कर्मचारी र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषको लागि सेयर बाँडफाँट गरिएको हो ।
बाँकी रहेको ११ लाख ८० हजार २६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन बिक्री खुला हुँदैछ । यो निष्कासन बन्द छिटोमा फागुन ४ गते हुनेछ भने ढिलोमा फागुन १३ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कस्तो छ रेटिङको अवस्था ?
क्रेडिट रेटिङ्ग संस्था केयर रेटीङ्ग नेपाल लिमिटेडले यसलाई CARE-NP BB (Is) [Double B ( Issuer) ] रेटिङ्ग प्राप्त गरेको छ । CARE – NP BB (Is) ले “Moderate risk of default regarding timely servicing of financial obligations, in Nepal” जनाउँदछ । जसको नेपालीमा “समयमै बित्तिय दायित्व भूक्तानीका सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको बुझिन्छ ।

कति कित्ताका लागि दिने आवेदन ?
रिज लाइन इनर्जीको सेयर पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता मात्र सेयर निष्कासन गर्दैछ । १० कित्ताका दरले आइपीओ बाँडफाँट गर्दा १ लाख ८ हजार २६ जनाले मात्र सेयर हात पार्नेछन् ।
यसआधारमा हेर्ने हो भने यो आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
आयोजना सम्बन्धी विवरण
रिज लाइन इनर्जी लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित भएको हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं ०१ रहेको छ । यस कम्पनीको जलविद्युत उत्पादन केन्द्र गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नं.२ र लमजुङ जिल्ला दुधपोखरी गाउँपालिका वडा नं.१ रहेको छ ।

संगठित संस्थाको स्थापनाकालदेखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरु :
नेपालमा रहेको अपार जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी संभाव्यता अध्ययन, निर्माण र संचालन गर्ने हेतुले निजी क्षेत्रका उद्यमीहरु मिलेर २०७६ माघ २६ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा रिज लाइन इनर्जी प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार संचालन गर्दै आएको थियो । पछि २०७९ मा यो कम्पनी पब्लिक लिमिटेडमा परिणत भएको हो ।
हाल यस कम्पनीमा ५१० जना संस्थापक शेयरधनीहरु रहेका छन् । यस कम्पनीका संस्थापक शेयरधनीहरु विद्युत÷उर्जा, बैंक÷वित्तीय क्षेत्र, स्वास्थ्य, शैक्षिक क्षेत्र, निर्माण, परामर्श एवं व्यापार÷व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका व्यक्तित्वहरु रहेका छन् ।
यस कम्पनीले गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नं.२ र लमजुङ जिल्ला दुधपोखरी गाउँपालिका वडा नं.१ स्थित जलविद्युत आयोजनाबाट ९.०५ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा संचालन गर्न नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट २०७८ जेठ ७ गतेबाट विद्युत उत्पादनको अनुमति प्राप्त गरेको हो ।
यता, कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच २०७५ चैत्र १९ गते भएको सुपर चेपे जलविद्युत आयोजना ९.०५ मे.वाको विद्युत खरिद बिक्री सम्झौता पीपीए गरेको हो । कम्पनीले निर्माण गरेको सुपर चेपे जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युत एक मुष्ठ नेपाल विद्युत प्राधिकरणले खरीद गर्न मञ्जुर गरी कम्पनी र नेपाल विद्युत प्राधिकरण बीच २०७५ चैत्र १९ गते विद्युत खरीद बिक्री सम्झौता समेत सम्पन्न भैसकेको छ । सुपर चेपे जलविद्युत आयोजना (९.०५ मे.वा.) को अनुमतिपत्र २११३ जेठ ०६ गतेसम्म बहाल रहेको छ । यसको आयोजना लागत प्रतिमेगावट २३ करोड १६ लाख रुपैयाँ छ ।

धितोपत्र जारी गर्नुको उद्देश्य :
कम्पनीको प्रवन्धपत्रमा जारी पुँजीको २२ प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान रहेको आइपीओ बिक्री गर्न लागेको हो । साथै, कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नु पर्ने कार्यहरुको लागि आवश्यक पर्ने पुँजीको प्रवन्ध गर्न सेयर बिक्री गरिंदैछ ।
यता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री गरी स्थानीय बासिन्दाहरुलाई लगानीको अवसर दिन र काङ हाइड्रोपावर कम्पनी लिमिटेडले प्रबद्र्धन गरेको माथिल्लो मैवाखोला जलविद्युत आयोजनामा १५ करोड लगानी गर्नेका लागि पनि सेयर बिक्री गर्न लागेको हो । यता, कम्पनीको दायित्व भुक्तानी गर्न पनि आइपीओ बिक्रीबाट प्राप्त हुने रकम उपयोग गर्नेछ ।
वित्तीय अवस्था
कम्पनीको अधिकृत र जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँ रहेको छ । यसको हालको चुक्ता पुँजी ९२ करोड ४३ लाख रुपैयाँ छ । कम्पनीले आर्थिक वर्ष २०८४–८५ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त समयसम्म आइपीओ बिक्रीपछि कायम हुने १ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुँजी नै यथावत् रहनेछ ।
गत आर्थिक वर्षमा कम्पनीले ७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले आर्थिक वर्ष २०८२-८३ को अन्त्यसम्ममा ९ करोड ५० लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, २०८३—८४ मा १३ करोड २९ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।

आइपीओ निष्कासनपछि संस्थापक सेयरधनीको हिस्सा ७८ प्रतिशत र सर्वसाधारण समूहको हिस्सा २२ प्रतिशत रहनेछ ।



