काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा छिमेकी मित्रराष्ट्र भारतप्रति धन्यवाद व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा बोलाई विशेष परिस्थितिमा हुन लागेको निर्वाचनका लागि सवारीसाधनलगायत विभिन्न सामग्री उपलब्ध गराइएकोमा आभार प्रकट गरिन् ।
भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारत सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे । मित्रवत् छिमेकीका नाताले सहयोग गर्नु भारतको कर्तव्य रहेको उल्लेख गर्दै उनले निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक तथा संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण हुने बताए ।


