काठमाडौं । पछिल्लो समय सुनको भाउ बढिराख्दा व्यवसायीहरु आकर्षित भइरहेका छन् । त्यस कारण नेपालमा सुनको आयात बढेको छ । आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमाससम्म १ हजार ५३ किलोग्राम सुन आयात भएको भन्सार विभागको तथ्यांक छ । गत आवको सोही अवधिको तुलनामा सुनको आयात १२५.४९ प्रतिशतले बढेको हो । गत आवको दोस्रो त्रैमासम्म ५८६ किलोग्राम आयात भएको थियो ।
विभाग अनुसार चालु आवमा १८ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ बराबरको १ हजार ५३ किलोग्राम सुन आयात भएको हो । यसबाट सरकारले १ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ राजस्व उठाएको विभागको तथ्यांक छ । गत आर्थिक वर्ष ६ अर्ब ७१ करोड ६ लाख रुपैयाँको ५८६ किलोग्राम सुन आयात भएक थियो । यसबाट सरकारले ८१ करोड ५० लाख रुपैयाँ राजस्व उठाएको थियो ।
त्यस्तै,सुनको आयात बढेपनि सुनको गरगहना आयात भने घटेको छ । ६ महिनामा १४ करोड ४ लाख रुपैयाँको आयात भएको छ । विभागका अनुसार गत आर्थिक वर्षको ६ महिनामा २७ करोड १८ लाख रुपैयाँको सुनका गरगहना आयात भएको थियो ।
चाल आवको कुन महिनामा कति आयात भयो सुन ?
चालु आर्थिक वर्षको पहिलो महिना अर्थात, साउनमा मात्रै १०० किलोग्राम सुन आयात गरिएको थियो । पहिलो महिनामा १ अर्ब ५२ करोड ६३ लाख ७१ हजार रूपैयाँको सुन आयात गरिएको थियो । भदौ महिनामा १ अर्ब ६० करोड ३६ लाख २० हजार रूपैयाँमा १०१ किलोग्राम सुन आयात गरिएको थियो । असोज महिनामा ४०० किलोग्राम सुन आयात गरिएको तथ्यांकमा देखिन्छ । असोजमा विदेशबाट कूल ७ अर्ब १२ करोड ३२ लाख ९४ हजार रूपैयाँ बराबरको सुन आयात गरिएको थियो ।
त्यस्तै, कार्तिकमा ३०१ किलोग्राम सुन आयात गरिएको थियो । जसको मूल्य ५ अर्ब ४६ करोड ७८ लाख ५९ हजार रूपैयाँ थियो ।मंसिर महिनामा १ किलो मात्रै सुन आयात भएको थियो । र,पुसमा १५० किलोग्राम आयत भएको छ ।


