काठमाडौं । २ मेगावाट विद्युत उत्पादन क्षमता रहेको अप्पर रिचेत हाइड्रोपावर प्राइभेट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
अप्पर रिचेत हाइड्रोपावर प्रालि र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा अप्पर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
कम्पनीले हाल कायम रहेको ४० करोड रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर आईपीओमार्फत सर्वसाधारणमा निष्कासन गर्ने जनाएको छ । आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनीले निकट भविष्यमै आफूलाई पब्लिक कम्पनीमा रूपान्तरण गर्ने तथा क्रेडिट रेटिङसम्बन्धी प्रक्रिया पनि अघि बढाएको जानकारी दिएको छ ।


