CLI

नेपाल र कतारबिचको संयुक्त व्यवसाय परिषद्को पहिलो बैठक काठमाडौंमा सम्पन्न

काठमाडौं । नेपाल र कतारबिचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने तथा द्विपक्षीय लगानी विस्तार गर्ने उद्देश्यले गठित नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ । चन्द्रागिरीमा भएको बैठकमा दुई देशका निजी क्षेत्रबिच लगानी अभिवृद्धि र व्यापार विस्तारमा सहकार्य गर्ने ठोस प्रतिबद्धता व्यक्त भएको छ ।

सन् २०२४ को अप्रिलमा कतारका अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा भएको सम्झौताअनुरूप यो परिषद् गठन गरिएको हो । परिषद्ले दुई देशका निजी क्षेत्रबिच संवाद, व्यावसायिक सहकार्य र प्रत्यक्ष संलग्नता बढाउने संरचनागत मञ्चका रूपमा काम थालेको छ ।

बैठकमा नेपाली पक्षले नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको भन्दै कतारी लगानीकर्तालाई आश्वस्त पार्ने प्रयास गर्यो । कानुनी संशोधन, डिजिटल प्रणालीमार्फत स्वीकृति प्रक्रियाको सरलीकरण र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सरकारको प्राथमिकता रहेको जानकारी गराउँदै नेपाली टोलीले ऊर्जा, खनिज, पर्यटन, कृषि प्रशोधन, स्वास्थ्य, शिक्षा र सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ । साथै, नेपाली व्यवसायीहरूले कतारको सेवा क्षेत्र, पर्यटन र साना तथा मझौला उद्यममा संयुक्त रूपमा काम गर्न सकिने सम्भावना औँल्याए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो बैठकले दुई देशबिचको आर्थिक सम्बन्धलाई थप बलियो बनाउने बताए । उनले महासंघ विदेशी लगानी सहजीकरण र संस्थागत सहकार्यका लागि पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे । अध्यक्ष ढकालले कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको नेतृत्वलाई महासंघको आगामी वार्षिक साधारण सभामा सहभागी हुन आमन्त्रण गर्दै सो सभा नीति निर्माता र व्यावसायिक नेतृत्वबिच प्रत्यक्ष संवादको थलो हुने उल्लेख गरे ।

बैठकमा कतारी प्रतिनिधिमण्डलले नेपालको लगानी सम्भावनामा सकारात्मक प्रतिक्रिया दिएको छ । कतार चेम्बर अफ कमर्सका बोर्ड सदस्य तथा प्रतिनिधिमण्डलका प्रमुख मोहद अहमद एम.ए. अलोबैदेलीले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण सुनिश्चित भए कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको बताए । उनले जेबीसीलाई औपचारिकतामा मात्र सीमित नराखी परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । नेपाल साँच्चिकै सुन्दर रहेको र यहाँका धेरै क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको कतारी पक्षको भनाइ थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले परिषद्लाई ठोस नतिजा दिने माध्यमका रूपमा विकास गर्नुपर्ने बताए । उनले परियोजना पहिचान र समस्या समाधान गर्दै दुवै पक्षलाई लाभ हुने गरी अघि बढ्न सुझाव दिए । त्यस्तै, महासंघका कोषाध्यक्ष भरतराज आचार्यले यो संयन्त्रलाई दुई देशबिचको आर्थिक सहकार्यको सक्रिय पुलका रूपमा व्याख्या गरे ।

नेपाल बसाइका क्रममा कतारी प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, उद्योग तथा पर्यटन मन्त्री अनिल कुमार सिन्हा, राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक देवचन्द्रलाल कर्णसँग पनि भेटवार्ता गरेको छ । भेटमा हवाई कनेक्टिभिटी, द्विपक्षीय व्यापार र सरकार–सरकार (जीटुजी) सहकार्यका विषयमा छलफल भएको थियो ।

बैठकले नेपाल र कतारबिचको परम्परागत श्रम सम्बन्धलाई माथि उठाउँदै व्यापार र लगानीको रणनीतिक साझेदारीतर्फ अघि बढाउने विश्वास लिइएको छ ।

Leave Your Comment

Related News