काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक छपाइ सामग्री छापिएर निर्वाचन आयोगमा आउन सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको छापाखानामा छापिएका मतदान निर्देशिका, मतगणना निर्देशिका, निर्वाचनसम्बन्धी ऐन, नियम र अन्य निर्देशिका आवश्यकमात्रामा छापिई सकेर आयोगमा आउने क्रम सुरु भएको सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । छापिएर आएका छपाइ सामग्री पनि निर्वाचनका अन्य सामग्रीसँगै ७७ वटै जिल्लामा पठाउने गरी तयारी भएको छ ।
प्रतिष्ठानबाट पहिलो चरणमा पाँच हजार छपाइ सामग्री आएको उनले सुनाए । बाँकी सामग्री पनि अब क्रमशः आएपछि जिल्ला जिल्लामा पठाउन तयारी अवस्थामा राखिने छ । मतपत्र भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ भइरहेको आयोगले जनाएको छ ।


