CLI

अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटभित्र ५ जनाभन्दा धेरै मानिस भेला हुन निषेध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरिएको छ। फागुन १ गते विमानस्थल र आसपासको क्षेत्रमा प्रदर्शन गर्ने भन्दै केही समूह तथा राजनीतिक दलहरूले विज्ञप्ति जारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निषेध आदेश जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबारदेखि लागू हुने गरी एक महिनासम्मका लागि विमानस्थल हाताभित्र पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा भनिएको छ, ‘विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायत विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।’

आदेशमा विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्र र आसपासको क्षेत्रमा भेला भई विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनीजस्ता उच्छृङ्खल गतिविधि हुन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ। सुरक्षा जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको प्रशासनको भनाइ छ।

यद्यपि, निषेध आदेश जारी गरिएका क्षेत्र बाहेकका स्थानमा संविधान प्रदत्त विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकारप्रति प्रशासन प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ। विमानस्थल क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील क्षेत्र मानिँदै आएको छ। पछिल्ला दिनमा प्रदर्शनको घोषणा भएपछि यात्रु आवागमन, अन्तर्राष्ट्रिय उडान तथा सुरक्षामा असर नपरोस् भन्ने उद्देश्यले निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

Leave Your Comment

Related News