काठमाडौं । ललितपुर। विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ । दरबार सङ्ग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गर्दै अनलाइन टिकट प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
पाटन दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले हाल अनलाइन टिकट बुकिङ प्रणाली परीक्षण चरणमा रहेको जानकारी दिए । उनका अनुसार अहिले सङ्ग्रहालय परिसरमा रहेका दुई वटा काउन्टरमार्फत टिकट वितरण हुँदै आएको छ भने टिकट शुल्क क्युआर कोडमार्फत भुक्तानी गर्ने व्यवस्था पहिले नै सुरु भइसकेको छ ।
“हालसम्म भौतिक काउन्टरबाट टिकट काट्नुपर्ने बाध्यता थियो”, प्रमुख लाखेले भने, “अब घरबाटै अनलाइन माध्यम प्रयोग गरी टिकट बुकिङ गर्न सकिने व्यवस्था गरेपछि पर्यटकहरूका लागि अझ सहज हुनेछ । हामी यो प्रणाली छिट्टै औपचारिक रूपमा सुरु गर्ने तयारीमा छौँ, अहिले परीक्षण भइरहेको छ ।”
अनलाइन टिकट प्रणाली सञ्चालनमा आएपछि लामो लाइनमा बस्नुपर्ने झन्झट हट्ने, समयको बचत हुने तथा पर्यटक व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास सङ्ग्रहालय प्रशासनले लिएको छ । विशेष गरी पर्यटकको चाप बढी हुने सिजनमा यसले ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ ।पाटन दरबार सङ्ग्रहालय सन् २०२५ मा तीन लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन् । सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कुल एक लाख पाँच हजार ३०० विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका हुन् ।


