CLI

सिरहामा ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ

सिरहा । सिरहा प्रहरीले मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकबाट अवैध लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा भारतको विहार, मधुवनी जिल्लाका २१ वर्षीय मोहमद नजरुल मियाँलाई बिहीबार नियन्त्रणमा लिएको हो ।

मियाँको साथबाट ५२ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको उनले जानकारी दिए । भारतबाट नेपालतर्फ शङ्कास्पद रूपमा आइरहेका मियाँले ब्राउन सुगर लुकाइछिपाइ ल्याएको अवस्थामा प्रहरीले फेला पारेको थियो । पक्राउ परेका मियाँलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय सिरहा प्रहरीले सीमा क्षेत्रमा लागूऔषध ओसारपसार र बिक्रीवितरण विरुद्ध कडा निगरानी बढाउँदै आएको छ ।

Leave Your Comment

Related News