CLI

राप्रपाको लक्ष्य : आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि पुर्‍याउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाँच वर्षभित्र आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ । रोजगार र आयआर्जनका अवसर वृद्धि गरी बचत क्षमता बढाउने र वैदेशिक लगानीकर्तालाई आकर्षण गर्न लगानीमैत्री कानुन निर्माण गरिने शनिबार (फागुन २) सार्वजनिक चुनावी संकल्पपत्र (घोषणापत्र)मा उल्लेख छ ।

सार्वजनिक खर्च प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाई पारदर्शी र मितव्ययी बनाउने, कर प्रणालीलाई सरल, वैज्ञानिक र न्यायोचित तथा करको दर नभएर दायरा बढाउने नीति लिइने राप्रपाले जनाएको छ ।

विश्व व्यापार संगठन, बिम्स्टेकलगायत बहुपक्षीय व्यापार व्यवस्थासँग सम्बन्धित कानुनी सुधार गर्ने, नेपाललाई ‘ग्रे–लिस्ट’बाट मुक्त गर्न वित्तीय पारदर्शिता, ‘मनी लाउन्डरिङ’ नियन्त्रण तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नियामक सुधार गर्ने, सहकारी र लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गरी बचतकर्ताको रकम सुरक्षित गरिने घोषणापत्रमा उल्लेख छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित घोषणापत्रमा विदेशी कच्चापदार्थमा आधारित उद्योगलाई सुविधा र संरक्षण प्रदान गर्ने, पुँजी बजारमा साना तथा संस्थागत लगानीकर्ताको आकर्षण बढाउने नीति लिइने उल्लेख छ ।

यस्तै, खानी उत्खननलाई दिगो विकास, पारदर्शिता र राष्ट्रिय हितसँग जोडेर अघि बढाउने, खनिज तत्त्वको सम्भावना खोजी गर्ने तथा बहुमूल्य धातुहरूको प्रशोधन कार्यमा निजी क्षेत्रसँग सहकार्य गर्ने राप्रपाको लक्ष्य रहेको घोषणापत्रमा उल्लेख छ ।

Leave Your Comment

Related News