काठमाडौं । हालसालै सम्पन्न बंगलादेशको संसदीय निर्वाचनपछि त्यहाँको सेयर बजारमा उछाल देखिएको छ । साताको पहिलो कारोबार दिन अर्थात, आइतबार बंगलादेशको सेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ। राजनीतिक स्थायित्व र आर्थिक पुनरुत्थानको अपेक्षासँगै लगानीकर्ताको विश्वास बढ्दा बजारमा उत्साहजनक सुधार आएको जनाइएको छ ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि र BNP नेतृत्वको गठबन्धनले स्पष्ट बहुमत हासिल गरेपछि लगानीकर्ताहरू सकारात्मक बनेका छन् । यसले सम्भावित लाभदायक सेयरहरूमा खरिद चाप बढाएको देखिन्छ।
आइतबार ढाका स्टक एक्सचेन्जको प्रमुख सूचक २ सय अंकले बढेर ५६ सय विन्दुमा पुगेको छ । यो प्रतिशतका आधारमा ३.७२ प्रतिशतको वृद्धि भएको हो । जुन पछिल्लो डेढ वर्ष यताकै उच्च वृद्धि मानिएको छ ।
निर्वाचन बिदापछि कारोबार पुनः सुरु हुँदा लगानीकर्ताको उच्च सहभागिता र राजनीति बारे स्पष्ट संकेतले बजारलाई थप ऊर्जा दिएको इबीएल सेक्यिरिटीजले जनाएको छ।
प्राइम सेक्युरिटीजका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत मो. मोनिरुज्जमानका अनुसार केही सेयरहरू हाल कम मूल्यमा रहेका कारण मूल्य वृद्धिको सम्भावना रहेको छ । साथै नयाँ सरकारले विगतमा समाधान हुन नसकेका अवरोधहरू हटाउन सक्ने अपेक्षा गरिएको छ।
उनका अनुसार अन्तरिम सरकारको अवधिमा धेरै लगानीकर्तालाई जरिवाना गरिएको थियो, तर ती जरिवाना असुल हुन बाँकी छन् र धेरै खाताहरू स्थगित अवस्थामा छन्। आईपीओ निष्कासन पनि सुस्त भएको छ । यी आधारभूत समस्याहरू समाधान भएमा बजारमा थप सुधार आउने उनको विश्वास छ । तथापि, सुधार र अनुशासन कायम गर्न समय लाग्ने उनले बताए।
आइतबार कारोबार सुरु भएदेखि नै बजारमा मजबुती देखिएको थियो । ३९४ कम्पनीमध्ये ३६४ कम्पनीको सेयर मूल्य बढेको द फाइनान्सियल एक्सप्रेसले जनाएको छ । यसैगरी, बंगलादेशको अर्को Chittagong Stock Exchange (CSE) पनि उच्च अंकले बढेर बन्द भएको छ । यसको CASPI सूचक ४८४ अंकले बढेर १५ हजार विन्दु माथि पुगेको छ । सोमबार यो समाचर तयार पार्दै गर्दा ढाका स्टक ५५८८ विन्दुमा कारोबार हुँदैछ ।


