काठमाडौं । सञ्चालनमा रहेका ५० वटा लघुवित्त संस्थाहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार कम्पनीहरुले ६ महिनामा समग्रमा ४ अर्ब ७९ करोड नाफा कमाएका छन् । यो नाफा गत वर्षको भन्दा ८९.१० प्रतिशत धेरै हो । गत वर्ष यी संस्थाहरुले २ अर्ब ५३ करोड नाफा कमाएका थिए । खुद ब्याज आम्दानी बढेसँगै नाफामा सुधार आएको हो ।
साथै, पछिल्लो समय बैंकले कर्जामा प्रदान गर्ने ब्याजदर घटाएका छन् । लघुवित्त संस्थाहरुले बैंकबाट रकम सापटी लिएर कर्जा परिचालन गर्छन् । बैंकहरुको ब्याजदर र बेस रेट घटेपछि लघुवित्तहरुले लिएको ऋणको ब्याज पनि कम हुन्छ । त्यसैले नाफामा सुधार आएको हो ।
संस्थाहरुले ६ महिनामा १६ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । यो आम्दानी गत वर्षको भन्दा १७.६४ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीहरुले १४ अर्ब ३७ करोड आम्दानी गरेका थिए ।
रिपोर्ट सार्वजनिक गर्ने अधिकांस संस्थाहरुको एनपीएल भने बढेको छ । खराब कर्जा बढेसँगै एनपीएल पनि बढेको हो । विज्ञहरुका अनुसार आर्थिक गतिविधिमा आएको सुस्तता, व्यवसायिक कर्जा प्रवाह कमजोर हुनु, कर्जा असुली प्रभावित हुनु तथा ऋणीहरुको नगद प्रवाह कमजोर हुनु एनपीएल बढ्नुका प्रमुख कारण हुन् ।
चुक्ता पुँजी र जगेडा कोष
५० वटा लघुवित्तमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी साना किसान लघुवित्तको रहेको छ । यसको ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ बराबरको पुँजी छ । छिमेकको ३ अर्ब ६१ करोड ७२ लाख, निर्धन उत्थनको २ अर्ब ७४ करोड २६ लाख र डिप्रोक्सको १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ बराबरको पुँजी छ ।
१५ वटाको चुक्ता पुँजी १ अर्ब भन्दा धेरै छ । समग्रमा लघुवित्तहरुको चुक्ता पुँजी ४० अर्ब ८ करोड ९६ लाख रुपैयाँ छ । भने जगेडा कोषमा लघुवित्तहरुको ३२ अर्ब २५ करोड जम्मा रहेको छ । जसमध्ये, साना किसानको जगेडा कोषमा ४ अर्ब २५ करोड ३१ लाख रुपैयाँ जम्मा रहेको छ । छिमेकको जगेडामा ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी
छिमेक लघुवित्तले ६ महिनामा १ अर्ब ४५ करोड ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ७.४५ प्रतिशत भन्दा धेरै हो । गत वर्षको पुससम्म यस संस्थाले १ अर्ब ३५ करोड ब्याज आम्दानी गरेको छ ।
दोस्रोमा, डिप्रोक्सले १ अर्ब ६ करोड ब्याज आम्दानी गरेको छ । जीवन विकासले भने १ अर्ब ४ करोड आम्दानी गरेको छ । समग्रमा संस्थाहरुले १६ अर्ब ९१ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । यो गत वर्षको भन्दा १७.६४ प्रतिशत धेरै हो ।

खुद नाफा
छिमेक लघुवित्तले ५७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको पुसको तुलनामा १२.५५ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले ५१ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । डिप्रोक्सले ४४ करोड २९ लाख, साना किसानले ३८ करोड ९ लाख नाफा कमाएको छ । समग्रमा लघुवित्तले ४ अर्ब ७९ करोड नाफा कमाएका छन् ।

प्रतिसेयर आम्दानी र नेटवर्थ
नेष्डो समृद्ध लघवित्तको प्रतिसेयर आम्दानी ६३.९९ रुपैयाँ छ । युनिक नेपालको इपीएस ६२.३१ रुपैयाँ, अभियानको ६१.८९ रुपैयाँ इपीएस छ ।
यता, सबैभन्दा धेरै प्रतिसेयर नेटवर्थ हुनेमा आत्मनिर्भर लघुवित्त रहेको छ । यसको नेटवर्थ ३८९.९० रुपैयाँ छ ।

एनपीएल
५० लघुवित्तमध्ये छिमेक लघुवित्तको निष्क्रिय कर्जा दर (एनपीएल) सबैभन्दा कम २.४५ प्रतिशत छ । आरएसडीसीको २.८४ प्रतिशत, गुराँसको ३.१३ प्रतिशत र सपोर्ट लघुवित्तको ३.१७ प्रतिशत एनपीएल छ । यता, नेरुडे मिर्मिरेको २५.७५ प्रतिशत छ ।



