CLI

सुपर खुदी हाइड्रोपावरको आइपीओ बिक्री खुला, चालु आर्थिक वर्षमा करिब ४० करोड नाफा कमाउने प्रक्षेपन, कस्तो छ कम्पनी ?

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले मंगलबार, फागुन ५ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात्, ३१ करोड रकम बराबरको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरको ३१ लाख कित्ता साधारण सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये, १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई बाँडफाँट गरिसकेको छ ।

यता, १ लाख ५५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि बाँडफाँट गरिएको छ । ७७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र ३१ हजार कित्ता कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको १२ लाख ८६ हजार ५०० कित्ता सेयर आम सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

यो निष्कासन बन्द छिटोमा फागुन ११ गते हुनेछ भने ढिलोमा फागुन १९ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कस्तो छ रेटिङको अवस्था ?

केयर रेटिङ्ग नेपाल लिमिटेडले सुपर खुदी हाइड्रोपावरलाई “CARE-NP BB (Is) [Double B (Issuer) ] ” रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

कति कित्ताका लागि दिने आवेदन ?

सुपर खुदी हाइड्रोपावरको सेयर पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५०० कित्ता मात्र सेयर निष्कासन गरेको छ । १० कित्ताका दरले आइपीओ बाँडफाँट गर्दा १ लाख २८ हजार ६८ जनाले मात्र सेयर हात पार्नेछन् ।
यसआधारमा हेर्ने हो भने यो आइपीओमा १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

आयोजना सम्बन्धी विवरण

सुपर खुदी हाइड्रोपावर लिमिटेड, कम्पनी ऐन, २०६३ बमोजिम २०६५ पौष ०२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । पछि २०८० आषाढ १३ गतेदेखि पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भएको हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३०, चारखाल, डिल्ली बजारमा रहेको छ । कम्पनीको जलविद्युत उत्पादन केन्द्र (पावर हाउस) लमजुङ्ग जिल्लाको मर्स्याङ्गदी गाउँपालिका वडा नं. २ र ३ रहेको छ ।

संगठित संस्थाको स्थापना कालदेखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरु :

नेपालमा रहेको अपार जलस्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहीचान गरी संभाव्यता अध्ययन, निर्माण र सञ्चालन गर्ने अभिप्रायले सुपर खुदी हाइड्रोपावर लिमिटेडले प्रचलित कानुन बमोजिम २०६५ पौष २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो ।

यस कम्पनीले माथिल्लो खुदी जलविद्युत आयोजना उत्पादन तथा सञ्चालन गर्न विद्युत उत्पादनको अनुमतिपत्र २११० जेठ ०८ गतेसम्म बहाल रहेको छ । कम्पनीले पहिचान गरी विकास निर्माण प्रारम्भ गरेको लमजुङ्ग जिल्लाको मर्स्याङ्गदी गाउँपालिका वडा नं. २ र ३ अन्तर्गत माथिल्लो खुदी जलविद्युत आयोजनाको ८२.३० प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।

यस आयोजनाको आ.व. २०८१ / ०८२ सम्मको खर्चको आधारमा प्रक्षेपित कुल लागत लगभग ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ निर्माण अवधिको (व्याज सहित) रहेको छ र यसको साधारण लगानीमा फिर्ता हुने अवधि ६.१० वर्ष र डिस्काउन्टमा लगानीमा फिर्ता हुने अवधि ९ ६७ वर्ष रहेको छ ।

माथिल्लो खुदी जलविद्युत आयोजनाबाट उत्पादन गरिएको सबै विद्युतशक्ती एकमुष्ट नेपाल विद्युत प्राधिकरणले खरिद गर्न मञ्जुर गरी कम्पनी र नेपाल विद्युत प्राधिकरण बीच २०७६ वैशाख ११ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भईसकेको छ । २०८० जेठ ३२ गते पहिलो संशोधन, २०८१ असार २० गते दोस्रो संशोधन तथा २०८१ कात्तिक २८ गते तेस्रो संशोधन भई व्यापारिक उत्पादन सुरु गर्नुपर्ने २०८२ चैत्र १७ गते कायम गरिएको छ ।

विद्युत विकास विभागबाट २०७५ जेठ ९ गते लिएको विद्युत अनुमतिपत्रको बहाल रहने अवधि २११० जेठ ८ गतेसम्म रहेकोले २७ वर्ष ०५ महिना बाँकी रहेको छ । कम्पनीले निर्माण गरिरहेको आयोजना नेपाल सरकार (नेपाल विद्युत प्राधिकरण) सँग गरीएको सम्झौताको आधारमा ३० वर्षका लागि निर्माण तथा सञ्चालन गर्ने र उक्त समय समाप्त भएपश्चात् सो परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । आइपीओ निष्कासनपछि संस्थापक सेयरधनीको हिस्सा ८० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा २० प्रतिशत रहनेछ ।

धितोपत्र जारी गर्नुको उद्देश्य :

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरी कम्पनीमा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट समेत प्रतिनिधित्व गराउने उद्देश्यले सेयर जारी गर्न लागेको हो ।

साथै, संकलित पुँजीलाई परिचालन गर्दै निर्माणाधिन अवस्थामा रहेको माथिल्लो खुदी जलविद्युत आयोजनाको निर्माण गरी जलविद्युत उत्पादन गर्ने उद्देश्यले सेयर जारी गर्न लागेको कम्पनीले जनाएको छ । आइपीओ बिक्रीबाट प्राप्त हुने ३१ करोड बराबरको रकम ब्रिज ग्याप ऋण भुक्तानी गर्न प्रयोग गरिनेछ ।

वित्तीय अवस्था

कम्पनीको अधिकृत पुँजी १ अर्ब ७५ करोड र जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यसको हालको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ छ । कम्पनीले आर्थिक वर्ष २०८४–८५ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त समयसम्म आइपीओ बिक्रीपछि कायम हुने १ अर्ब ५५ करोड रुपैयाँ पुँजी नै यथावत् रहनेछ ।

गत आर्थिक वर्षमा कम्पनीले १९ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०८२-८३ को अन्त्यसम्ममा ३९ करोड ८७ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, २०८३—८४ मा १५ करोड ५९ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको सञ्चित नाफा ४६ करोड ५३ लाख रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १३७.५३ रुपैयाँ छ ।

 आयोजनाको तस्विर ः

Leave Your Comment

Related News