काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धमा देखिएका व्यवहारिक तथा नीतिगत विषयहरूबारे आफ्ना विस्तृत सुझावहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष औपचारिक रूपमा पेश गरेको छ।
नाइमाका अनुसार ट्याक्सी सेवा मापदण्ड २०८१ मा ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा वर्गीकरण गरिएको छ। उक्त मापदण्डमा प्राविधिक, सुरक्षा तथा सेवा सम्बन्धी विशिष्टिकरणहरू स्पष्ट रूपमा तोकिएका छन् र ती मापदण्डहरू पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवाअन्तर्गत समावेश गर्न सकिने व्यवस्था गरिएको छ।
तर हाल बागमती प्रदेश मा व्यवहारतः सिडान प्रकारका सवारी साधनलाई मात्र ट्याक्सी सेवाको अनुमति दिइएको अवस्था रहेको नाइमाले जनाएको छ। संघले राष्ट्रिय मापदण्डअनुसार साधारण, विशेष र विशिष्ट वर्गअन्तर्गत पर्ने तथा तोकिएका सबै प्राविधिक, सुरक्षा र सेवा सम्बन्धी मापदण्डहरू पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवामा समावेश गर्न सकिने स्पष्ट व्यवस्था भए पनि त्यसको कार्यान्वयनमा एकरूपता नभएको उल्लेख गरेको छ।
नाइमाले सिडान बाहेकका अन्य उपयोगी, यात्रुमैत्री तथा आवश्यकताअनुकूल सवारी साधनलाई ट्याक्सी सेवाबाट बाहिर राख्न स्पष्ट आधार नदेखिएको जनाएको छ। मापदण्डअनुसारका सबै शर्त पूरा गर्ने विभिन्न सवारी वर्गलाई अनुमति प्रदान गरिएमा सेवा प्रदायकलाई आवश्यकताअनुसार लचकता मिल्ने, यात्रुलाई पर्याप्त सुविधा, सामान राख्ने स्थान, पहुँचयोग्यता (अपाङ्गता मैत्री) तथा यात्रु समूहको आकारअनुसार थप विकल्प उपलब्ध हुने संघको तर्क छ।
पत्रमा विश्वका विभिन्न देशहरूमा विभिन्न आकार र वर्गका सवारी साधनमार्फत ट्याक्सी सेवा सञ्चालन भइरहेको सन्दर्भ उल्लेख गर्दै नेपालमा विशेषगरी बागमती प्रदेशमा विकल्प सीमित रहेको औंल्याइएको छ। केही अन्य सहरमा फरक वर्गका सवारी साधनलाई अनुमति दिइए पनि बागमती प्रदेशमा सो व्यवस्था लागू नभएको कारण व्यवहारिक असमानता देखिएको नाइमाको भनाइ छ।
संघले मापदण्डमा उल्लेखित सबै प्राविधिक, सुरक्षा र सेवा सम्बन्धी विशिष्टिकरण पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवामा अनुमति प्रदान गरिनु न्याय, समानता र सेवा विस्तारका दृष्टिले उपयुक्त हुने सुझाव दिएको छ।
मन्त्रालयद्वारा तयार पारिएको नीतिगत ढाँचाको उद्देश्यप्रति सम्मान व्यक्त गर्दै नाइमाले उद्योगगत अनुभव र सेवाको गुणस्तर अभिवृद्धिका आधारमा सुझाव प्रस्तुत गरिएको स्पष्ट पारेको छ। सुरक्षित, गुणस्तरीय र यात्रुमैत्री ट्याक्सी सेवा प्रवर्द्धनका लागि मन्त्रालयसँग निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको पनि पत्रमा उल्लेख गरिएको छ।


