CLI

रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । रौतहटको गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।

गौर नगरपालिका-६, सनगढा गाउँमा दुई समुदायबिचको विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

रौतहट जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशअनुसार आज दिउँसो १ बजेदेखि लागु कर्फ्यु अर्को आदेश नआउँदासम्म जारी रहनेछ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार यस अवधिमा गौर नगरपालिकाबाट पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा आवतजावतसमेत गर्न पाइने छैन।

गौर नगरपालिका-६, सनगढा गाउँमा शुक्रबार मस्जिदमा प्रार्थना गरिरहेका बेला हिन्दु समुदायले बाजा बजाएको निहुँमा विवाद सुरु भएको थियो। जसले गर्दा गौर क्षेत्र तनावग्रस्त भएको छ। अप्रिय घटना हुन नपाओस् भनेर स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो।

Leave Your Comment

Related News