CLI

निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छिन् । उनले एक हप्ताभित्र फागु पूर्णिमा (होली) पर्व आउँदै गरेको र हिमाली क्षेत्र खासगरी रुकुम पूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्याहरू देखा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरिन् ।

उनले विभिन्न जिल्लाहरूमा स्थानीय समस्या रहेको उल्लेख गर्दै तराई क्षेत्रमा केही राजनीतिक दलहरू बढी सक्रिय रहेको र तिनीहरूबिचको प्रतिष्पर्धा झडपको रूपमा बदलिन सक्ने आशंका व्यक्त गरिन् । पार्टीहरूबीच झण्डा जलाउने जस्ता घटना पनि रिपोर्ट भएकाे र जसले निर्वाचनको समयमा तनाव बढाउनसक्ने उनले बताइन्। यस्ता सम्भावित घटनाबाट बच्न पूर्वतयारी आवश्यक रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।

निर्वाचन बहिष्कार गर्ने समूहहरूबारे बोल्दै उनले यस्ता बहिष्कारकर्ताहरूको प्रभावकारीता कमजोर देखिएको उल्लेख गरिन् । उनकाअनुसार कतिपयले निर्वाचन बहिष्कारको नाममा पार्टीको अस्तित्व देखाउने र एक्सटर्सन (चन्दा–पैसा असुली) गर्ने प्रवृत्ति अपनाएका छन् । कसैले व्यापार वा उद्योग गरेको देखाएर पार्टी चलाउने गरेको पनि उनले उल्लेख गरिन् । यद्यपि, यस्ता गतिविधिप्रति तर्क रहनुपर्नेमा उनले जोड दिइन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायलाई उच्च शतर्कता अपनाउन निर्देशन दिइन् ।

Leave Your Comment

Related News