CLI

किम यो जोङको शक्तिशाली उदय: उत्तर कोरियाको शीर्ष केन्द्रीय समितिमा पदोन्नति

प्योङयाङ । उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टी अफ कोरियाले नेता किम जोङ उनका सबैभन्दा विश्वासपात्र मानिने बहिनी किम यो जोङलाई शीर्ष केन्द्रीय समितिभित्र विभाग निर्देशकको जिम्मेवारीमा पदोन्नति गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ। यो निर्णयलाई सत्ता संरचनाभित्र उनको प्रभाव औपचारिक रूपमा अझ बलियो बनाइएको संकेतका रूपमा हेरिएको छ।

पाँच वर्षमा एकपटक आयोजना हुने पार्टीको शिखर सम्मेलनका लागि हजारौँ प्रतिनिधि प्योङयाङमा भेला भइरहेका बेला गरिएको यो पदोन्नतिले कूटनीति, सुरक्षा र रणनीतिक विषयमा किम परिवारको पकड थप सुदृढ भएको देखाएको छ। किम यो जोङले यसअघि प्रचार संयन्त्रमा वरिष्ठ भूमिका निर्वाह गरेकी थिइन्, तर हाल कुन विभागको नेतृत्व सम्हालेकी हुन् भन्ने खुलाइएको छैन।

लामो समयदेखि आफ्ना दाजुका निकटतम सहकर्मीका रूपमा चिनिँदै आएकी उनले आणविक वार्ता र अन्तर्राष्ट्रिय कूटनीतिमा स्पष्ट र कडा अभिव्यक्ति दिँदै आएकी छन्। सिङ्गापुर र हनोईमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएका शिखर भेटवार्तामा उनी कार्यस्तर अधिकारीका रूपमा सक्रिय थिइन्।

सन् २०१८ मा प्योङचाङ शीतकालीन ओलम्पिकका अवसरमा विशेष दूतका रूपमा सियोल पुगेसँगै उनी अन्तर्राष्ट्रिय रूपमा चिनिन थालिन्। कोरियाली युद्धपछि दक्षिण कोरियामा पाइला टेक्ने किम वंशकी पहिलो सदस्य बनेकी उनले त्यसयता वासिङ्टन र सियोलप्रति कडा टिप्पणी गर्दै आएकी छन्। दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओलको सरकारलाई ‘संयुक्त राज्य अमेरिकाको वफादार कुकुर’ भनी दिएको टिप्पणी चर्चित बनेको थियो। यद्यपि वर्तमान राष्ट्रपति ली जे म्युङ सत्तामा आएपछि उनको सार्वजनिक भाषा केही नरम देखिएको विश्लेषकहरू बताउँछन्।

सन् १९८८ मा जन्मिएकी किम यो जोङ पूर्व नेता किम जोङ इल र को योङ हुईकी सन्तानमध्ये एक हुन्। स्विट्जरल्यान्डमा शिक्षा हासिल गरेकी उनी सन् २०११ मा आफ्ना पिताको निधनपछि सत्ता संरचनामा तीव्र रूपमा उक्लिएकी थिइन्।

पार्टी सम्मेलनलाई किम जोङ उनले आफ्नो नेतृत्व सुदृढ पार्ने अवसरका रूपमा लिँदै आएका छन्। किम वंशअन्तर्गत नवौँ पटक आयोजना गरिएको यस भेलाले भविष्यको उत्तराधिकारबारे पनि चासो बढाएको छ। विशेषगरी किम जोङ उनकी छोरी किम जु एलाई अघि सारिने सम्भावनाबारे चर्चा भइरहेको छ।

यसबीच, डोनाल्ड ट्रम्पले पुनः उच्चस्तरीय भेटका लागि आफू ‘शतप्रतिशत’ तयार रहेको बताएका छन्। तर किम जोङ उनले हालसम्म वार्ता पुनः सुरु गर्ने स्पष्ट संकेत दिएका छैनन्। पछिल्लो पदोन्नतिसँगै किम यो जोङको भूमिका आन्तरिक शक्ति सन्तुलन र बाह्य कूटनीतिमा अझ निर्णायक बन्ने अनुमान गरिएको छ।

Leave Your Comment

Related News