काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारीमा लागेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा छिट्टै सार्वजनिक गर्ने भएसँगै यसको तयारीमा जुटेको हो ।
मौद्रिक नीतिको अर्धवार्षिक समिक्षको लागि राष्ट्र बैंकले सञ्चालक समिति बैठक बोलाएको बताएको छ । आगामी केहि दिनभित्र राष्ट्र बैंकको सञ्चालक समिति बैठकले मौद्रिक नीतिको समिक्षा अनुमोदन गर्ने कार्यक्रम रहेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा आएको गिरावट र तरलता व्यवस्थापन गर्नुपर्ने दायित्व राष्ट्र बैंक माथि रहेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् तरलता व्यवस्थापनको लागि योजना निर्धारण गर्ने तयारी गरिएको ती अधिकारीले बताए ।
चालु आर्थिक वर्षको पहिलो साउन महिनामा १० खर्ब १२ अर्ब , भदौमा १० खर्ब ४६ अर्ब र असोजमा ११ खर्ब ६१ अर्ब ऋण दिन मिल्ने रकम थियो । माघ दोस्रो सातासम्म आइपुग्दा १२ खर्ब ४ अर्ब ऋण दिन मिल्ने रकम भएको छ ।
गत आर्थिक वर्षका ११ महिनासम्म औसत ६ खर्ब ऋण दिन मिल्ने रकम रहेकोमा असार महिनामा मात्र बढेर साढे १० खर्ब पुगेको थियो । त्यसपछिको समयमा ऋण दिन मिल्ने रकम थपिने क्रम निरन्तरता पाएको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक विवरणहरू हेर्दा बाह्य क्षेत्रका रूपमा रहेका विदेशी मुद्रा सञ्चिति, शोधनान्तर बचत, रेमिट्यान्स आप्रवाह लगायतको अवस्था सकारात्मक छ । विदेशी मुद्राको सञ्चिति करिब २६ खर्ब ७७ अर्ब पुगेको छ ।
शोधानान्तर स्थिति ३ खर्ब १८ अर्बले बचतमा छ । रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले बढेको छ । तर अधिकांश आन्तरिक सूचक भने सकारात्मक छैनन् । बैंकमा अत्यधिक लगानीयोग्य रकम थुप्रिएको छ । ब्याजदर न्यून हुँदा पनि लगानी बढ्न सकेको छैन । नयाँ उद्योग, व्यवसाय खोल्ने र लगानी गर्नेहरू छैनन् भन्दा फरक पर्दैन । यसको मतलब निजी क्षेत्रमा आत्मविश्वास छैन ।


