CLI

‘अर्थतन्त्र र लगानीकर्ता बचाउन दोहोरो आइजिन आवश्यक’, सिंगल आइजिनले लगानीकर्ता भाग्ने खतरा बढ्छ ?

काठमाडौं । संस्थापक र साधारण सेयरको छुट्टा छुट्टै इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजीन) को माग सरोकारावालाहरुले गरेका छन् ।  सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) ले सोमबार आयोजना गरेको कार्यक्रममा सेयर बजारका लगानीकर्ता, ब्रोकरदेखि मर्चेन्ट बैंकरले पनि दोहोरो आइजिनको व्यवस्था हुने पर्नेमा जोड दिए ।

उनीहरुले सिंगल आइजिनका कारण धेरै लगानीकर्ताहरु फसेको र अझै फस्न सक्ने भन्दै सीडीएसको निर्णयको स्वागत गरेका छन् । यद्दपि, धितोपत्र अभौतिकरण कार्य सञ्चालन निर्देशिका, २०८२ अझै पनि बोर्डमा विचाराधिन छ । सीडीएससीकी प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुख प्रवीन पन्दकले पुँजी बजारका लगानीकर्ताको लगानी सुरक्षित गर्नको लागि डबल आइजीन आवश्यक रहेको बताईन् ।

एउटै मात्र आइजीन दिँदा सर्वासाधारण लगानीकर्ता ठगिने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्नको लागि डबल आइजिन सम्बन्धी निर्देशिका ल्याएको बताइन् । यद्दपि, निर्देशिका बनेर पारितको लागि नेपाल धितोपत्र बोर्ड पठाएको ६-७ महिना भइसक्दा पनि स्वीकृत हुन नसकेको प्रति उनले दुख व्यक्त गरिन् ।

‘संस्थापक सेयरको संख्या घटाएर सेयरलाई लिस्टेड गर्ने र त्यसलाई लकिङ अवधि नसकिंदै बेच्ने प्रवृति रहेको छ’ उनले भनिन्, ‘यसलाई व्यवस्थित गर्नको लागि हामीले डबल आइजीनको व्यवस्था गर्न लागेका हौं ।’ साथै, उनले निर्देशिका सार्वजनिक नगर्न आफूलाई दबाब आएको खुलासा गरिन् । ‘यो कार्यक्रम नगर, निर्देशिका नदेखा, दोहोरो आइएसआइएन नल्याऊ भनेर दबाब आयो,’ उनले भनिन् ।

पन्दकका अनुसार निर्देशिका सीडीएससी सञ्चालक समितिबाट पारित भएर सेबोनमा पठाइएको भए पनि ६–७ महिनादेखि स्वीकृतिको प्रतिक्षामा छ । प्रस्तावित व्यवस्था अनुसार संस्थापक र सर्वसाधारण सेयर लक–इन अवधिसम्म फरक–फरक आइएसआइएन नम्बरमा रहने छन् । पन्दकका अनुसार हाल आइपीओ जारी गर्नु अगाडि सार्वजनिक हुने विवरणपत्रमा ९० प्रतिशत संस्थापक र १० प्रतिशत सर्वसाधारण भनिए पनि सीडीएसीमा भने शतप्रतिशत साधारण सेयर देखिएको थियो ।

‘केही अवस्थामा संस्थापक सेयर सुटुक्क साधारण सेयरमा मिसाउने गरिएको छ । दोहोरो आइएसआइएनले यस्तो प्रवृत्ति नियन्त्रण गर्न मद्दत गर्छ,’ उनले भनिन् ।

यता, सेबोनका एक उच्च अधिकारीले ‘आइजिन’ सम्बन्धी निर्णय हालसम्म नभएको बताए । उनले भने, ‘आइजिनको विषय स्वीकृतिका लागि भनेको बोर्ड समक्ष आएको छ । यो सेबोनमा अध्यनको क्रममा छ । कतिपय नीति निर्माण गर्न समय लाग्छ । नयाँ कुराहरुको निर्णय गर्न समय लाग्छ । त्यसैले अध्ययन हुँदैछ ।’

सीडीएससीले बोर्डमा स्वीकृतिका लागि पेश गरेको धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका, २०८२ को परिच्छ्रेद -३ मा ‘अभौतिकीकरणको सम्झौता भए पश्चात धितोपत्रको निक्षेप गर्नका लागि उक्त संगठित संस्थाले जारी गरेको धितोपत्रको प्रकार अनुसार एकै प्रकारका धितोपत्र समूहलाई एउटै र फरक प्रकारका धितोपत्र समूहलाई छुट्टा छुट्टै आइजिन प्रदान गर्नु पर्नेछ ।

तर संगठित संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संस्थापक र सर्वसाधारण समूहको सेयर छुट्टिएको अवस्थामा संस्थापक र सर्वसाधारण सेयएर समुहलाई छुट्टा छुट्टै आइजिन प्रदान गर्नु पर्नेछ; भनेर उल्लेख गरिएको छ । साथै, यस निर्देशिका लागू हुनु पूर्व संस्थापक र सर्वसाधारण समूहको धितोपत्रको लागि एउटै आइजिन दिई लकइन अवधिमा भएका धितोपत्र समेतलाई निर्देशिका लागू भए पश्चात फरक फरक आइजिन प्रदान गरिने  भनिएको छ ।

सीडीएससीले यस्तो निर्देशिका ल्याएसँगै सेयर लगानीकर्ता, नियाम र निजी क्षेत्र विभाजित भएका छन् । जसमध्ये निजी क्षेत्र भने यसको विरोधमा छन् । तर, सेयर लगानीकर्ता, सीडीएस, मर्चेन्ट बैंक र ब्रोकरहरु भने दोहोरो आइजिनको पक्षमा छन् । एउटै आइजिन हुँदा संस्थापक र सर्वसाधारण सेयर प्रणालीमा एउटै समूहमा देखिने भएकाले लक–इन अवधि नसकिँदै सेयर बिक्री हुने, सेयर मूल्यमा चलखेल हुने र सर्वसाधारण लगानीकर्ता जोखिममा पर्ने अवस्था सिर्जना भएको दाबी गरिएको छ । छुट्टाछुट्टै आइजिन हुँदा सेयरको वर्ग स्पष्ट छुट्टिने र त्यस्तो गतिविधि नियन्त्रण गर्न सजिलो हुने समर्थक पक्षको भनाइ छ ।

यस्तै, पारदर्शिताको अभाव अर्को कारणका रुपमा औँल्याइएको छ । डबल आइजिन लागू भए सेयरको वास्तविक स्वामित्व, वर्गीकरण र कारोबार अवस्था स्पष्ट देखिने भएकाले नियमन र अनुगमन प्रभावकारी हुने विश्वास गरिएको छ । यसले बजारमा अनुशासन कायम गर्न सहयोग पुग्ने अपेक्षा छ ।

सरोकारवालाहरुका अनुसार नेपालको पुँजी बजार अझै विकासशील चरणमा रहेको र लगानीकर्ता सचेतनाको स्तर समान नभएकाले संरचनात्मक सुरक्षा उपाय आवश्यक छन् ।

आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत (सीइओ) बद्री प्याकुरेल पनि कुनै पनि कम्पनीको लकिङ पिरियड बाँकी रहँदै संस्थागत सेयर लगानीकर्ताले आफ्नो नामको सेयर बेचेर कम्पनीबाटै बाहिरिने गरेको बताए । उनले सेयर अभौतिकिकरण र सूचीकरण गर्दा डबल आइजिनमा राख्नुपर्ने बताए ।

कानुनतः कम्तिमा कम्पनीका संस्थागत सेयरधनीको लकिङ पिरियड ३ वर्ष हुने र त्यहाँसम्म संस्थागत सेयर बेच्न नपाइने स्पष्टै हुन्छ । तर, यस्तो सेयरमा छुट्टाछुट्टै आइजिन नभएको फाइदा उठाएर कम्पनी सूचीकरण हुनेवित्तिकै आफ्नो नामको सेयर बेच्ने, सेयरमूल्यमा म्यानुपुलेसन गर्ने तथा अन्तिममा कम्पनीबाटै बाहिरिने गरेको थुप्रै गुनासो आएको समेत सीइओ प्याकुरेलले जानकारी दिए ।

उनले अन्तर्राष्ट्रिय अभ्यासमा डबल आइजिन लागू छैन भनेर नियामक निकाय पन्छिन नमिल्लने बताए । ‘अन्तराष्ट्रिय अभ्यासलाई हेरेर डबल आइजिन आवश्यक छैन भन्न भएन’ उनले भने, ‘नेपालको सन्दर्भमा के आवश्यक छ त्यसतर्फ सोच्न आवश्यक छ ।’ लगानीकर्ता इमान्दार नहुँदा नेपालमा डबल आइजिन आवश्यक रहेको उनको भनाई छ ।

यता, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनी प्रबन्ध निर्देशक परमेश्वर भक्त मल्लले लकङ अवधि नसकि सेयर बिक्री गर्न नमिल्ने व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले यसको लागि डबल आइजिन पनि ठिक रहेको बताए । साथै, उनले ३ वर्षको लकइन  अवधि सकिएपछि पनि संस्थापकल बिक्री गर्न पाउने सेयरमा सीमा तोक्न आवश्यक रहेको बताए ।

साथै, लगानीकर्ताहरुले पनि सेयर बजारलाई व्यवस्थित र पारदर्शी बनाउनको लागि डबल आइजिन आवश्यक रहेको बताए । विज्ञ लगानीकर्ता प्रकाश रजौरेले सिंगल आइजिन हुँदा लकङ अवधि नसकिंदै सेयर बेचेर संस्थापक सेयरधनी भागेको बताउँदै यसलाई व्यवस्थित गर्नको लागि डबल आइजिन आवश्यक रहेको बताए ।

‘लकइन अवधिभित्रै संस्थापकले सेयर बेचेर पैसा पनि लिने र त्यही सेयर कगजमा मात्रै संस्थापक राखेर बैंकबाट ऋण पनि लिने गरेको पाइएको छ’ उनले भने । उनले यसरी भएको गम्भिर वित्तीय अपराध रोक्नको लागि पनि डबल आइजिन आवश्यक रहेको छ ।

त्यस्तै, नेपाल सेयर बजार लगानीकर्ता संघका अध्यक्ष हरि बहादुर केसीले पनि सेयर बजारलाई पारदर्शी बनाउनको लागि डबल आइजिनको आवश्यक रहेको बताए । ‘संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गरेर लकइन अवधि नसकिंदै सेयर बेच्ने प्रवृती रहेको छ’ उनले भने, ‘यसलाई व्यवस्थित गर्न पनि डबल आइजिन आवश्यक रहेको छ ।’

यता, निजी क्षेत्रका प्रतिनिधिहरुले भने अहिले नियामक निकायले कडा नियमन गरेको खण्डमा डबल आइजिन तत्काल आवश्यक नरहेको बताएका छन् । उनीहरुका अनुसार डबल आइजिनले बजारमा आवश्यकभन्दा बढी जटिलता थप्ने र अनावश्यक भ्रम सिर्जना गर्ने जोखिम रहेको छ ।

निजी क्षेत्रका प्रतिनिधिहरुको भनाइमा सेयर कारोबारमा समस्या देखिनुको मुख्य कारण आइजिन संरचना नभई कमजोर नियमन हो । नियामक निकायले प्रभावकारी अनुगमन र कडा कारबाही गरे लकइन अवधि उल्लङ्घन वा सेयर बिक्रीमा हुने अनियमितता नियन्त्रण गर्न सकिने उनीहरुको तर्क छ । त्यसैले संरचनात्मक परिवर्तनभन्दा कार्यान्वयनमा सुधार आवश्यक रहेको धारणा राखिएको छ ।

उनीहरुले अन्तर्राष्ट्रिय अभ्यासमा पनि एउटै प्रकारका सेयरका लागि एकल आइजिन प्रयोग हुने उल्लेख गर्दै नेपालमा मात्र फरक अभ्यास लागू गर्दा बजार विश्वसनीयतामा असर पर्न सक्ने बताएका छन् ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरत आचार्यले पुँजी बजार स्वच्छ र पारदर्शी हुन आवश्यक रहेको बताए । तथापि, संस्थापक सेयरधनीलाई नियमन गर्ने नाममा डबल आइजिन आवश्यक भने नरहेको उनको भनाई छ ।

त्यस्तै, नेपाल चेम्बर आफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले पनि नियामक निकायले प्रभावकारी नियमन गर्न नसक्दा पुँजी बजारमा समस्या आएको बताए । उनले डबल आइजिन लागू भए पुँजी बजारमा झनै भ्रम फैलिने बताए ।

‘बोनस हकप्रद सेयरलगायतमा डबल आइजिनले झनै त्रुटिपूर्ण बनाउँछ’ उनले भने । उनले संस्थापकको लकिङ अवधि बढाउन सकिने र लकिङ अवधिपछि बिक्री गर्न पाउने सेयरमा सीमा लगाउन मिल्ने धारणा राखेका छन् । साथै, इप्पानका अध्यक्ष गणेश कार्कीले पनि अहिलेको अवस्थामा डबल आइजिनको आवश्यक नरहेको बताए । उनले नियामक निकायले प्रभावकारी नियम गरेको खण्डमा डबल आइजिन आवश्यक नरहेको बताए ।

‘बाटोमा हिड्दा हिड्दैं नियम परिवर्तन गर्नुहुन्न । यसले लगानीकर्तालाई झनै निरुत्साहित गर्छ,’ उनले भने, ‘अहिले डबल आइजिनको आवश्यक छैन ।’

कार्कीले पन्दकलाई कसले दबाब दिएको हो भन्ने खुलासा गर्न माग गरे । ‘यदि नियामकले निजी क्षेत्रलाई नै मारमा पार्ने हो भने आईपीओ नै रोकिदिए हुन्छ,’ उनले टिप्पणी गरे । उनका अनुसार केही कम्पनीले गलत गरेको आधारमा सम्पूर्ण निजी क्षेत्रलाई एउटै मापदण्डमा हेर्न नहुने हो ।

यता, नेप्सेका एक अधिकारीले भने यसअघि बैंक वित्तीय संस्था र बिमा कम्पनीलाई २ वटा आइजिन नम्बर दिएर गल्ती भइसकेको हुनाले अब त्यस्तै गल्ती गर्न नहुने बताउँछन् । उनले भने, ‘अब नयाँ गल्ती गर्न हुँदैन । इन्टरनेसनल प्राक्टिसमा यस्तो हुँदैन । आन्ना (ANNA)ले धितोपत्र भनेर सेयर, ऋणपत्र, अग्राधिकार सेयरलाई एउटा मात्र आइजिन दिने भनेको छ । हाम्रोमा प्रमोटर सेयर एउटा र साधारण सेयर भनेर अर्कै व्याख्या  गरिएको छ । बैंक, फाइनान्सको पनि गलत भएको हो ।’

उनले भने, ‘लक गरिएका सबै सेयर बजारमा आएका छैनन् । लक गर्नलाई अलग आइजिन चाँहिंदैन । कसले बदमासी गर्यो त्यसलाई कारबाही गर्नु पर्यो । कसले लकइन रहेको बेला सेयर फुस्काए ? कसको मिलेमतोमा भयो ? त्यो पत्ता लगाउनु पर्छ ।’

यसरी, नियामक र निजी क्षेत्रबीच मतभेद बढ्दा बजारमा अस्थिरता सिर्जना हुन सक्ने र लगानीकर्ताले थप जोखिम भोग्नुपर्ने अवस्था उत्पन्न हुने सम्भावना छ । अन्तर्राष्ट्रिय अभ्यासमा डबल आइजिन नहुँदा पनि नेपालमा स्थानीय बजार व्यवहार, संस्थापक अनुशासन र लगानीकर्ता सुरक्षाका कारण यसको आवश्यकता देखिएको लगानीकर्ताहरुको भनाई छ ।

Leave Your Comment

Related News