काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्मको अवधिमा १ खर्ब ११ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
विवरण अनुुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय १६.४३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेक थिए । कुल बीमा शुल्क आर्जनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छन् भने बृद्धिदरका आधारमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा, आइएमई लाइफ इन्स्योरेन्स अगाडि रहेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा आफ्नो व्यवसाय १३.८१ प्रतिशतले बृद्धि गर्दै २९ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ पुराउन सफल भएको छ । दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले गत आवको तुलनामा१८.४६ प्रतिशतले बढाएर १३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ र एलआइसी नेपालले ७.७७ प्रतिशतले बढाएर १२ अर्ब ३ करोड रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको ५.४२ प्रतिशतले बृद्धि भई १० अर्ब ४३ करोड रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको ९३ प्रतिशतले बृद्धि भई ७ अर्ब ६१ करोड र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ११.९२ प्रतिशतले बृद्धि भई ६ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा एशियन लाइफ इन्स्योरेन्सको साढे ९ प्रतिशतले बृद्धि भई ५ अर्ब ५६ करोड रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको १८.९५ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १२.२९ प्रतिशतले बढेर ४ अर्ब २७ करोड र आइएमई लाइफको ३३ प्रतिशतले बढेर ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।
मेट लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन ९.९५ प्रतिशतले बढेर ३ अर्ब ७१ करोड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १३.८६ प्रतिशतले बढेर ३ अर्ब ४८ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४.६२ प्रतिशतले बढेर ३ अर्ब २५ करोड र सन नेपाल लाइफ इन्स्योरेन्सको ४.६२ प्रतिशतले बढेर २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।


