काठमाडौं । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले सात महिनाको अवधिमा उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा १३.४५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेक थिए । जेन–जी आन्दोलन र विभिन्न बाढीपहिरोको क्षतिबाट त्रसित बनेका सर्वसाधारणहरु बीमाप्रति सकारात्मक बन्दै बीमा गराउँदै अघि बढीरहेका छन् ।
समीक्षा अवधिमा शिखर र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सर्वाधिक कुल बीमा शुल्क आर्जन गरेका छन् भने बृद्धिदरमा हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्स अघि रहेका छन् । माघ मसान्तसम्ममा शिखर इन्स्योरेन्सले तीन अर्ब ३२ करोड चार लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । कम्पनीको व्यवसाय गत आर्थिक वर्षको तुलनामा ६ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दुई अर्ब ९८ करोड ९६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई अर्ब ८३ करोड ९३ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई अर्ब ५१ करोड ४९ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले दुई अर्ब ३८ करोड ६ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले दुई अर्ब १८ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ ।
समीक्षा अवधिमा नेको इन्स्योरेन्सले दुई अर्ब १५ करोड १५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले एक अर्ब ७५ करोड ७३ लाख रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्सले एक अर्ब ६८ करोड ७५ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले एक अर्ब ६० करोड १४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले एक अर्ब ३४ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, प्रभु इन्स्योरेन्सले एक अर्ब सात करोड ८ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले ८९ करोड २४ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७९ करोड ९६ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसायलाई देशका कुना काप्चामा समेत विस्तार गरेर अघि बढाइरहेका छन् ।


