काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ केन्द्रीय कार्यालय भवन बुधबार भव्य समारोहका बीच उद्घाटन गरेको छ।
काठमाडौं महानगरपालिका–३, पानीपोखरीस्थित करिब ६० हजार वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको १२ तले भवन (२ तला पार्किङसहित) संस्थागत सुदृढीकरण, सेवा विस्तार र प्रविधिमैत्री पूर्वाधार विकासको लक्ष्यसहित तयार गरिएको कम्पनीले जनाएको छ।
फागुन १४ गते (फेब्रुअरी २६) आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष हेमराज ढकाल, नेपाल बीमा प्राधिकरण का कार्यकारी निर्देशक सुशिलदेव सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष तथा संस्थापक शेयरधनी चन्द्रप्रसाद ढकाललगायतले संयुक्त रूपमा रिबन काटेर भवन उद्घाटन गरे। प्राधिकरणका निवर्तमान अध्यक्ष प्रो. डा. फत्तबहादुर केसी, बीमा क्षेत्रका पदाधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र उद्योगी–व्यवसायीको उपस्थिति थियो।
अध्यक्ष ढकालले नयाँ संरचनाले कम्पनीको दीर्घकालीन रणनीति, दिगो विकास प्रतिबद्धता र ग्राहक–केन्द्रित सेवामा थप ऊर्जा दिने बताए। “आधुनिक डिजाइन, सुविधा सम्पन्न कार्यक्षेत्र र डिजिटल सेवा प्रणालीमार्फत छिटो, प्रभावकारी र विश्वसनीय सेवा दिन लक्ष्य राखेका छौं,” उनले भने।
प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले नयाँ पूर्वाधारले सेवा गुणस्तर र पहुँचमा सकारात्मक प्रभाव पार्ने धारणा राख्दै बीमा क्षेत्रलाई देशभित्र सीमित नराखी अन्तर्राष्ट्रियकरणतर्फ नीति निर्माण भइरहेको संकेत गरे। संस्थापक शेयरधनी चन्द्रप्रसाद ढकालले ११ वर्षमा कम्पनीले हासिल गरेको रूपान्तरणलाई ‘इमान्दारीपूर्ण व्यवस्थापनको परिणाम’ भने।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले भवनलाई संस्थागत सुदृढीकरण र दीर्घकालीन दृष्टिकोणको प्रतीक भन्दै व्यवस्थापन टिम र कर्मचारीको योगदानप्रति कृतज्ञता व्यक्त गरे।
कम्पनीका अनुसार नयाँ भवनसँगै प्रविधिमा आधारित सेवा विस्तार, पारदर्शिता र ग्राहक विश्वास अभिवृद्धिलाई प्राथमिकता दिइनेछ।


