चितवन। देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म कुनै किसिमको रौनक देखिएको छैन । रत्ननगर नगरपालिका–८स्थित माझी, मुसहर टोल निर्वाचनको रौनकतादेखि टाढा छ । २९ घरपरिवार माझी, मुसहर भएको सो टोलकी अध्यक्ष बासमती माझी निर्वाचन नजिकिए पनि कुनै उम्मेदवारको नजर आफ्नो बस्तीमा नपरेको बताउ छन् । उनले भने, “अहिलेसम्म यहाँका मतदाता भेट्न कुनै उम्मेद्वार आउनु भएको छैन ।”
अघिल्ला निर्वाचनमा हरेक दलका उम्मेदवार वा प्रतिनिधि मत माग्न आउँथे । तर यसपटक कोही नआएको उनले बताए । यसपटकको निर्वाचनमा यहाँका स्थानीय बासिन्दालाई कुन दलबाट को उम्मेदवार छन् भन्ने सम्म थाहा छैन । मतदान नजिकिए पनि यहाँ मतदाता शिक्षा स्वयंसेवक आइनपुगेको उनले गुनासो गरे ।
ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका यस समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीको अभाव छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता भएका महेश माझी निर्वाचनको विषयमा कुरा गर्न समेत मान्नुहुन्न । उनलाई मतदान गर्ने रुचि समेत देखिन्न । उनले भने, “मलाई मतदान गर्ने इच्छानै छैन केको निर्वाचन लाग्नु ।” आफूले ‘प्लस टू’ उत्तीर्ण गरे पनि रोजगारी पाउन नसकेपछि अटो भाडामा लिएर चलाउँदै आएका उनी रोजगारी, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी नहुने भएकाले मतदान गर्ने रुचि नभएको बताउ छन् ।
कक्षा १२ सकेर घरमै सीप सिक्दै आउनु भएकी अञ्जली माझी पनि दलका उम्मेदवारहरुले आफ्नो बस्तीलाई बिर्सेको गुनासो गरे । उनले भने, “हाल यहाँका मतदातालाई मतदान गर्ने तरिकासमेत थाहा छैन ।”


