CLI

जिम्मेवारपूर्ण पत्रकारितामा सञ्चार सचिवको जोड

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले जिम्मेवारपूर्ण पत्रकारितामा जोड दिएकी छिन् । निर्वाचन आयोगसँगको सहकार्यमा राससद्वारा आज यहाँ आयोजित पत्रकार महिलाका लागि ‘निर्वाचन समाचार र आचारसंहिताको अभिमुखीकरण’कार्यक्रममा उनले व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताइन् ।

स्वच्छ, निष्पक्ष र भयरहित वातारणमा निर्वाचन सम्पन्न गर्न सञ्चारजगत्को भूमिका महत्वपुर्ण हुने चर्चा गर्दै सचिव बस्नेतले प्रेसका माध्यमबाट प्राप्त सूचनाकाआधारमा मतदाताले धारणा बनाउने भएकाले वास्तविक समाचार सम्प्रेषणमा जोड दिइन् ।

“मतदाता निर्धक भएर मतदान केन्द्रमा पुग्ने र सहितरिकाले मतदान गर्न सहयोग पुर्याउने हिसाबले समाचार सम्प्रेषण गरौँ ”, सचिव बस्नेतले भनिन् ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले निर्वाचनलाई सहयोग पुग्नेगरी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । प्रभावकारी सन्देश प्रवाहमा उनको जोड थियो । सन्देश कसका लागि र किन तयार गर्ने भन्नेमा स्पष्ट नहुँदा त्यसको प्रभावकारिता कमजोर हुने उनको कथन थियो ।

“हामीमा के सन्देश प्रवाह गर्दैछौँ भन्ने स्पष्टताको अभाव देखिन्छ”, अध्यक्ष झाले भने, “जब सन्देशको उद्देश्य, लक्षित समूह र आधारभूत तथ्य स्पष्ट हुँदैन, त्यहाँ मित्थ्याले स्थान पाउँछ ।”

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले निर्वाचन आचारसंहिता पालना गर्नु हरेक पत्रकारको दायित्व हो भनिन् ।

राससका महाप्रबन्धक सन्दीप राईले निर्वाचनका बेला सूचना र समाचारको चाप बढ्ने भएकाले पत्रकारले गम्भीर भएर निष्पक्ष सामग्री प्रस्तुत गर्नुपर्ने बताए । समाचार महाशाखाका उपप्रमुख एकराज पाठकले विश्वमा द्रत रूपमा विकास भइरहेको सूचना प्रविधिले ल्याएका चुनौतीलाई सामना गर्दै समाचारलाई विश्वासनीय तुल्याउनेतर्फ समाचारदाता चनाखो हुनुपर्ने बताए ।

कार्यक्रममा राससका महिला पत्रकार, नेपाल पत्रकार महासङ्घ, काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका महासङ्घका प्रतिनिधि, प्रेस काउन्सिल, सञ्चारिका समूह, वर्किङ विमेन जर्नलिष्ट, सार्वजनिक सेवा प्रसारण नेपाल र गोरखापत्र दैनिकका पत्रकार महिला सहभागी छन् ।

Leave Your Comment

Related News