काठमाडौं । सक्कली डलर देखाएर नक्कली डलर दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका– ६ घर भएका ५१ वर्षी को देवबहादुर तामाङ रहेका छन् ।
तामाङले बुधबार दिउँसो २ बजे काठमाडौंको नागार्जुन नगरपालिका– ७ रत्नराज्य स्कूल नजिकै पछाडिको जंगलमा डलर साटी दिन्छु भन्दै पटक पटक फोन गरी बोलाइरहेका थिए ।
उनले पसलेहरूलाई फोन गरेर डलर साटिदिने भन्दै प्रलोभन देखाएर डलर देखाउने र डलरकै आकारमा काटिएको कागजको बिटा दिइ ठगी गरेका थिए ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनलाई चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकापस्थित डेरा कोठामा खानतलासी गर्दा फेला परेको रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
उनको साथबाट प्रहरीले अमेरिकी डलर ५० को ५, अमेरिकी डलर १ को ७०७ थान र डलरकै साइजमा काटिएको कागजको ६ थान बिटा बरामद गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


