CLI

१२० भन्दा बढी कम्पनीको साधारण सभामा आइपीओ प्रस्ताव पेश, जम्मा १३ वटाले मात्र दिए लाभांश

काठमाडौं । चालु आर्थिक वर्षमा १०० भन्दा धेरै पब्लिक कम्पनीहरुले आइपीओ प्रस्ताव साधारण सभामा पेश गरेका छन् । आर्थिक वर्ष २०८२-८३ को फागुन १४ गतेसम्म आइपुग्दा कुल १२२ वटा कम्पनीहरुले वार्षिक साधारण सभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव अघि सारेका छन् ।

जसमध्ये, अधिकांसले सभाबाट उक्त प्रस्ताव पारित गरिसकेका छन् भने केहीको सभामा सो एजेन्डा पेश हुन बाँकी छ । १२२ मध्ये केही कम्पनीहरुले भने नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै आवेदन पनि दिइसकेका छन् ।

यति धेरै कम्पनीहरु दोस्रो बजारमा भित्रिने तयारीमा रहँदा लाभांश दिनेको संख्या भने निकै कम छ । १२२ मध्ये १३ वटाले मात्र आइपीओसहित लाभांश घोषणा गरेका छन् । साधारण सेयर जारी गर्ने भनेर घोषणा गरेका संस्थामध्ये करिब ११ प्रतिशतले मात्र लाभांश दिने भएका हुन् ।

विश्लेषकहरुका अनुसार नयाँ कम्पनीहरु बजारमा भित्रिँदा दोस्रो बजारमा आपूर्ति बढ्ने सम्भावना रहन्छ । यदि माग सोही अनुपातमा नबढेमा सेयर मूल्यमा दबाब पर्न सक्छ । विशेषगरी दीर्घकालीन लगानीकर्ता लाभांशलाई स्थायित्वको सूचकका रुपमा हेर्ने भएकाले आकर्षण घट्न सक्ने अनुमान गरिएको छ ।

लाभांश कमजोर भएका कम्पनीहरुमा छोटो अवधिको नाफा खोज्ने प्रवृत्ति बढ्न सक्छ, जसले मूल्य अस्थिरता बढाउने जोखिम पनि रहन्छ । बजारमा हल्ला र अपेक्षामा आधारित कारोबार बढ्दा सेयर मूल्य चाँडो उतारचढाव हुन सक्ने देखिन्छ ।

यद्दपि केही विश्लेषकहरुले भने नयाँ कम्पनीहरुको आगमनले बजार विस्तार हुने र लगानीका अवसर बढ्ने तर्क गरेका छन् । उनीहरुका अनुसार प्रारम्भिक चरणमा लाभांश कम भए पनि व्यवसाय विस्तारसँगै भविष्यमा प्रतिफल सुधार हुन सक्ने सम्भावना रहन्छ ।

लगानीकर्ता तथा बजार विश्लेषक केशव कोइरालाले केही हाइड्रोपावर कम्पनीहरुका संस्थापकहरुले सेयर बिक्री गर्नलाई आइपीओ वा हकप्रद सेयर जारी गर्ने गरेको बताउँछन् । उनले भने, ‘ केही संस्थापक सेयरधनीहरुले आफ्नो सेयर सजिलै बिक्री गर्न सकून् भन्ने उद्देश्यले आइपीओ र हकप्रद सेयर ल्याइन्छ ।’

यता, अर्का एक विश्लेषकले संस्थापहरुले एक्जिट लिनलाई सहज होस् भनेरै आइपीओ जारी गर्ने गरेको बताए ।

सूचीअनुसार, गत वर्षको नाफाबाट बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिट्युट, बिजनेस इन्टरेस्ट ग्रुप अप इन्डस्ट्रिज, सेन्चुरी इनर्जी, फोनपे, हाइल्यान्ड डिस्टिलरी, ह्याम्स हस्पिटल, केबीएसएएम आलमुनियम, नेसनल फन्ड म्यानेजमेन्ट, नर्भिक, सिड इनर्जी, सिम्रिक एयर, सुमेरु पोलिमर र भेन्चर हायर फर्चेजले लाभांश घोषणा गरेको छ ।

यीमध्ये केही कम्पनीहरु बोर्डको पाइपलाइनमा आइपीओ अनुमति पर्खिहेका छन् । केही कम्पनीहरुले आइपीओ प्रस्ताव पुनः साधारण सभामा पेश गरेका छन् । यता, नर्भिक हस्पिटलले सबैभन्दा धेरै ४०.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सेन्चुरी इनर्जीले ३५ प्रतिशत, फोनपेले १९ प्रतिशत, हाइल्यान्ड हिस्टिलरीले २६.३१ प्रतिशत लाभांश दिने भएको छ ।

Leave Your Comment

Related News