CLI

चुनावी अनिश्चितताकाबीच नेप्से सूचकमा झिनो वृद्धि, यो साता कारोबार रकम पनि बढ्यो

काठमाडौं । यस साता (फागुन १० गतेदेखि फागुन १४ गतेसम्म) नेप्से सूचक १२.७८ अंकले बढेको छ । बजार ०.४८ अंकले बढेर २६५४.९३ विन्दुमा पुगेको छ । आइतबार २६४०.६७ विन्दुमा कारोबार खुला भएको थियो । साताभर नेप्से सूचक उच्च विन्दु २६६६.२२ देखि न्यून विन्दु २६०८.९५ बीच कारोबार भएको छ ।

यस साताको ३ दिन बजार बढेको छ भने २ दिन घटेको छ । नेप्से सूचकसँगै बैंकिङ समूह सातामा ०.९४ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक ०.९४ प्रतिशत, फाइनान्स १.०८ प्रतिशत, होटल तथा पर्यटन समूह ०.९० प्रतिशत, उत्पादन समूह १.०६ प्रतिशत, निर्जीवन बिमा १.१६ प्रतिशत, जीवन बिमा समूह १.८७ प्रतिशत, लघुवित्त समूह ०.१० प्रतिशत, लगानी समूह ०.७३ प्रतिशत बढेको छ ।

यता, हाइड्रोपावर समूह ०.३६ प्रतिशत घटेको छ ।  अन्य समूह ०.०३ प्रतिशत, ट्रेडिङ समूह २.६८ प्रतिशत, म्युचुअल फन्ड भने ०.८४ प्रतिशत घटेको छ  । यस हप्ता सालपा विकास बैंक सबैभन्दा धेरै ६१.०२ प्रतिशत बढेको छ । रिलायन्स स्पिनिङ मिल्स भने ५६.८५ प्रतिशत बढेको छ । हिमस्टार उर्जा १३.०२ प्रतिशत, झापा इनर्जी ८.१८ प्रतिशत, मञ्जुश्री फाइनान्स ७.९० प्रतिशत बढेको छ ।

सबैभन्दा धेरै भाउ घट्नेमा बुद्ध भूमि नेपाल हाइड्रोपावर रहेको छ ।  सातामा यसको भाउ १०.९० प्रतिशत घटेको छ । रिडी पावर १०.१९ प्रतिशत र एसियन हाइडड्रोपावर ८.७९ प्रतिशत घटेको छ । यस साता २४ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो साता १६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यसो त, चुनाव नजिकिँदै गर्दा सेयर बजारमा लगानीकर्ताहरु ‘पर्ख र हेर’को स्थितिमा छन् । आगामी नयाँ सरकार गठन भएपछि कुन प्रकारको नीति निर्माण हुनेछ, कुन दलको सरकार बन्नेछ, र सरकारले सेयर बजारलाई प्राथमिकता दिने नीति अपनाउनेछ कि छैन भन्ने विषयमा स्पष्टता नभएकाले लगानीकर्ताहरुले अहिले सक्रिय रुपमा लगानी गर्न हिचकिचाइरहेका छन् ।

यसै कारण दैनिक कारोबार रकममा गिरावट आएको छ भने प्रमुख इन्डेक्सहरुमा पनि ठूलो उतारचढाव देखिएको छैन । यद्दपि, हाल सरकारले वित्तीय बजारको लागि केही सकारात्मक पहलहरु गरेका छन् । बैंकिङ प्रणालीमा ब्याजदरहरु कम गरिएको छ, जसले सेयरधितो कर्जालाई थप आकर्षक बनाएको छ । त्यस्तै, सेयरधितो कर्जामा लगाइएको अधिकतम सीमा (क्याप) घटाइएको छ र यस कर्जा सहज रुपमा उपलब्ध गराइएको छ ।

ब्रोकरहरुले मार्जिन सेवा प्रदान गर्न सुरु गरेका छन्, जसले लगानीकर्तालाई आवश्यक पर्ने पुँजीको पहुँचलाई सहज बनाएको छ । यी सकारात्मक आर्थिक र वित्तीय संकेतहरु हुँदाहुँदै पनि लगानीकर्ताहरु चुनावको परिणाम र आगामी नीतिगत दिशा स्पष्ट नभएसम्म जोखिम लिन हिचकिचाइरहेका सेयर बजारका जानकारहरु बताउँछन् । यसको प्रभाव प्रत्यक्ष रुपमा दैनिक कारोबार रकममा देखा परेको छ, जसले बजारमा सीमित तर स्थिर उतारचढावको स्थिति सिर्जना गरेको छ।

अहिलेको सेयर बजार नीति र राजनीतिक अनिश्चितताको मिश्रणको प्रभावमा छ। लगानीकर्ताहरुको मनोवृत्ति “वेट एन्ड वाच” रहेको कारण बजारमा ठूला उतारचढाव छैन । यदि चुनावपछि स्थिर सरकार गठन भई र बजारमैत्री नीतिहरु लागू भए, त्यसले पुनः बजारमा सक्रियता र सकारात्मक उतारचढाव ल्याउने सम्भावना राख्ने जानकारहरु बताउँछन् ।

Leave Your Comment

Related News