CLI

गुगललाई नक्सा डाटा निर्यात अनुमति

सियोल। वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण कोरियाले गुगललाई देशको अत्यन्तै सटीक नक्सा डाटा विदेशी सर्भरमा निर्यात गर्न सशर्त अनुमति दिएको छ । सरकारले शुक्रबार गरेको निर्णयसँगै कोरियामा गुगल नक्सा पूर्ण रूपमा सञ्चालन हुने बाटो खुलेको मानिएको छ ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकारी अधिकारी र निजी विज्ञहरूको समीक्षा पश्चात् गुगलको १ः५,००० स्केलको विस्तृत म्यापिङ डाटा निर्यात गर्ने अनुरोध स्वीकृत गरिएको हो । तर उक्त अनुमति नेभिगेसन सेवाका लागि आवश्यक सीमित डाटामात्र स्थानान्तरण गर्न पाइने, उचाइ रेखाजस्ता संवेदनशील विवरण समावेश नगर्ने र थप सुरक्षा उपाय अपनाउने सर्तमा दिइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका अनुसार गुगलले पहिलो चरणमा डाटा दक्षिण कोरियाभित्रैका सर्भरमा प्रशोधन गर्नुपर्नेछ र त्यसपछि मात्र सरकारी स्वीकृति लिएर निर्यात गर्न पाउनेछख । साथै, दक्षिण कोरियाली भूभागसँग सम्बन्धित सटीक निर्देशाङ्क हटाउन र गुगल अर्थ तथा स्ट्रिट भ्यूजस्ता समय–शृङ्खला सेवामा सैन्य तथा अन्य संवेदनशील स्थलका स्याटेलाइट र हवाई तस्वीरहरू धमिलो (ब्लर) बनाउनुपर्ने माग पनि सरकारले राखेको छ ।

सरकारले गुगललाई नक्सा डाटा निर्यातसम्बन्धी विषय व्यवस्थापन गर्न दक्षिण कोरियामा एक अनुपालन अधिकारी नियुक्त गर्न निर्देशन दिएको छ । तोकिएका सर्तहरू पालना नभए स्वीकृति निलम्बन वा रद्द गर्न सकिने मन्त्रालयले जनाएको छ । गुगलका सरकारी मामिला तथा सार्वजनिक नीतिका उपाध्यक्ष क्रिस टर्नरले इमेलमार्फत जारी वक्तव्यमा कम्पनीले ‘आजको निर्णयलाई स्वागत गरेको’ र ‘कोरियामा पूर्ण रूपमा कार्यशील गुगल नक्सा उपलब्ध गराउन स्थानीय अधिकारीहरूसँग निरन्तर सहकार्य गर्ने अपेक्षा’ राखेको बताए ।

यसअघि दक्षिण कोरियाले राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता र संवेदनशील भौगोलिक जानकारी घरेलु सर्भरमै राख्नुपर्ने नीतिका कारण गुगलको विस्तृत डाटा निर्यात अनुरोध वर्षौंसम्म अस्वीकार गर्दै आएको थियो । ती प्रतिबन्धका कारण दक्षिण कोरिया त्यस्ता थोरै देशमध्ये पर्दै आएको थियो जहाँ विश्वव्यापी रूपमा लोकप्रिय गुगल नक्साको प्रयोग सीमित थियो । फलस्वरूप, स्थानीय प्रयोगकर्ताहरू प्रायः नाभर र काकाओजस्ता स्वदेशी इन्टरनेट कम्पनीका सेवामा निर्भर रहँदै आएका थिए ।

आलोचकहरूले भने ती प्रतिबन्धका कारण विदेशी आगन्तुकहरूमा असन्तुष्टि बढेको र पर्यटन क्षेत्रमा नकारात्मक असर परेको तर्क गर्दै आएका थिए । दक्षिण कोरिया आफूलाई प्रमुख अन्तर्राष्ट्रिय यात्रा गन्तव्यका रूपमा स्थापित गर्न खोजिरहेका बेला गुगल नक्साको सीमित प्रयोगले प्रत्यक्ष असर पारेको हुनसक्ने उनीहरूको भनाइ थियो ।

Leave Your Comment

Related News