काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले यसले उर्जा प्राप्त भएको बताए ।
‘देशभरका साथीहरू र मतदाताले फोन गरेर कांग्रेस रुपान्तरण गर्नुभयो अब देश रुपान्तरण गर्ने प्रक्रियामा अझ उत्सहजनक तरिकाले अगाडि बढ्नुस् भन्नुभएकाले अझ उत्सही बनाएको छ,’ उनले सन्देशमा भनेका छन् ।
महामन्त्री पौडेलले देशैभरका कांग्रेसका कार्यकर्ताहरूलाई मतदातामाझ पुग्न आग्रह गर्दै राजनीतिका तमाम विकृती सफा गर्ने र नयाँ ढंगले अघि बढ्ने विश्वास दिलाएका छन् ।
काठमाडौं– ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले यहाँका मतदाताबाट समेत स्नेह प्राप्त भएको बताए । ‘आदरणीय मतदाताज्यूहरूले जसरी स्नेह प्रकट गर्नुभएको छ, त्यसबाट मलाई उर्जा प्राप्त भएको छ, उनले भने ‘म अत्यन्त उत्साही छु ।’


