CLI

विदेशी लगानीकर्ताले नेपालबाट लगे १६ अर्ब २६ करोड बढी लाभांश

काठमाडौं । विदेशी लगानीकर्ताले नेपालमा लगानी गरे पछि लगानी प्रतिफलस्वरुप १६ अर्ब बढी रुपैयाँ लाभांश लगेका छन् । चालू आर्थिक वर्षको पहिलो सात महिनामा विदेशी लगानीकर्ताले नेपालबाट १६ अर्ब २६ करोड ७६रुपैयाँ लाभांश लगेको उद्योग विभागले जनाएको छ । जुन गत आर्थिक वर्षको सात महिनाको तुलनामा ९०.५५ प्रतिशत अर्थात् ७ अर्ब ७३ करोड ६ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको सात महिनामा उनीहरूले ८ अर्ब ५३ करोड ७० लाख रुपैयाँ लाभांश नेपालबाट लगेका थिए ।

विभागका अनुसार चालू आर्थिक वर्षको माघमा मात्र पाँच अर्ब ९३ करोड ३० लाख रुपैयाँ लाभांश लगेका छन् ।  यसले पनि लाभांश वितरण धेरै देखिएको विभागका सूचना अधिकारी सुरेश दाहालले जानकारी दिए ।

चालू आर्थिक वर्षको छ महिनामा १० अर्ब ३३ करोड ४५ लाख रुपैयाँ लाभांश लगेका छन् ।  गत आर्थिक वर्षको छ महिनामा एक अर्ब ६१ करोड ६० लाख रुपैयाँ लाभांश लगेका थियो । गत आर्थिक वर्षमा मात्रै १० अर्ब १८ करोड ७६ लाख रुपैयाँ लाभांश वितरण गरिएको हो । सूचना अधिकारी दाहालका अनुसार लगानी प्रतिफलस्वरूप लाभांश लैजाने समय निश्चित नहुँदा कुनै महिना धेरै र कुनै महिना थोरै लाभांश लगेका देखिने गरेको छ ।

सेवा, पर्यटन र सञ्चार प्रविधमा लगानी गरेबापत विदेशी लगानीकर्ताहरूले ठूलो लाभांश लैजाने गरेका छन् । यसका अलावामा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि र उत्पादनमूलक उद्योग तथा व्यवासाय सञ्चालन गरी मुनाफास्वरूप लाभांश वितरण गरिएको छ । नेपाल उद्योग तथा व्यवसाय क्षेत्रमा लगानी गरेबापत विदेशीहरूले निरन्तर लाभांश लैजाने गरेको सूचना अधिकारी दाहालले जानकारी दिए ।

विभागका अनुसार १५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरू रहेका छन् । पछिल्लो १५ महिनामा मात्र नभई सोभन्दा अघि पनि निरन्तर लाभांश लगेको विभागका तथ्यांकमा देखिन्छ ।

गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा लाभांश वितरण करिब छ गुणले बढी हो । आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब ३५ करोड ८५ लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा मात्र १६ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ लाभांश वितरण गरिएको छ ।

विभागले मासिकरूपमा लाखौँ रकम लाभांश वितरण गर्दै आएको हुँदा लाभांश रकम मासिकरूपमा बढ्दै गएको देखिन्छ । यता विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार पछिल्लो समय लाभांश रकम लैजानको लागि आवेदन प्रक्रिया पूरा गर्नेको संख्या बढ्दै गएसँगै लाभांश रकम बढ्दै गएको हो । लगानी गरेपछि प्रतिफल लैजान प्रक्रियागत र कानुनीगत समस्या नभएसँगै रकम लैजाने क्रमले निरन्तरता पाएको हो  ।

विदेशी लगानीकर्ताले लगानी गरेपछि लाभांश लैजाने मात्र नभई यहाँको नियमअनुरूप विभिन्न दस्तुरहरू बुझाउने गरेका छन् । चालू आर्थिक वर्षको सात महिनामा चार अर्ब १९ करोड २५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सात महिनामा ७१ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यसैबीच चालू आर्थिक वर्षको माघमा मात्र २८ करोड ८८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । चालू आर्थिक वर्षको छ महिनामा भने तीन अर्ब ९० करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

Leave Your Comment

Related News