काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले सेयर बजारमा ५८ अर्ब भन्दा धेरै लगानी गरेका छन् । चालु आर्थिक वर्षको माघ महिनासम्म आइपुग्दा ५६ वटा फन्डहरुले सेयर बजारमा ५८ अर्ब २४ करोड रुपैयाँ लगानी गरेका छन् । यो अघिल्लो महिनाको भन्दा ४.३७ प्रतिशत धेरै हो । अघिल्लो महिना अर्थात, पुसमा फन्डहरुको सेयर बजारमा ५५ अर्ब ८० करोड रुपैयाँ लगानी थियो ।
बजार साइडेवज रहेको अवस्थामा म्युचुअल फन्डहरुले स्टक मार्केटमा लगानी गरेका छन् । यसले संस्थागत लगानीकर्ताहरुको बजारमा आकर्षण बढेको देखाएको छ । यता, फन्डहरुले माघमा ८४ करोड ७८ लाख रुपैयाँ घाटा व्यहोरेक छन् । अघिल्लो महिना यी फन्डहरु १ अर्ब भन्दा धेरै नोक्सानीमा थिए ।
२१ वटा फन्डहरुले मात्र नाफा कमाएका छन् । ३५ भने घाटामा छन् । फन्डहरुमध्ये २५ वटाले सेयर बजारमा १ अर्ब भन्दा धेरैको लगानी गरेका छन् । सबैभन्दा धेरै मार्केटमा लगानी गर्नेमा एनआइबिएल सहभागिता फन्डले ७ अर्ब ५२ करोड लगानी गरेको छ । एनएमबि सरल बचत फन्ड इले ३ अर्ब ७७ करोड, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले २ अर्ब ४ करोड, एचएलआइ लार्ज क्यापले २ अर्ब २ करोड रुपैयाँ लगानी गरेको छ ।

सनराइज फोकस्ट इक्विटी फन्डले ६ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ । एमबीएल इक्विटीले ६ करोड १३ लाख, रिलायबल समृद्धि योजना ५ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ ।



