CLI

निर्वाचन भयरहित र निष्पक्ष बनाउन सामूहिक जिम्मेवारीका साथ खटिन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सबै प्रहरी कर्मचारीलाई सामूहिक जिम्मेवारीबोधका साथ कटिबद्ध हुन निर्देशन दिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट आइतबार भर्चुअल माध्यममार्फत आयोजित कार्यक्रममा उनले निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचनपछि अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुमा स्पष्ट निर्देशन दिएका हुन् ।

उनले नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर सम्भावित सुरक्षा चुनौतीको सामना गर्न सदैव तयार रहनुपर्ने, सूचना संकलनलाई प्राथमिकतामा राखी सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै प्रभावकारी परिचालन गर्नुपर्नेमा जोड दिए । अन्य सुरक्षा निकाय तथा सरोकारवालासँग निरन्तर समन्वय गरी त्रुटीरहित कार्यसम्पादन गर्न पनि निर्देशन दिइयो।

निर्वाचन आचारसंहिता उल्लङ्घन, अवाञ्छित गतिविधि वा सामाजिक सञ्जालमार्फत फैलाइने गलत/मिथ्या सूचनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सक्रिय हुनुपर्नेमा उनले विशेष जोड दिए । साथै आपराधिक गतिविधि रोकथामका लागि बलियो उपस्थिति कायम राख्दै आवश्यक परे संयुक्त परिचालन र पूर्वअभ्यासलाई प्राथमिकता दिन निर्देशन दिइयो।

निर्वाचन अधिकृतसँग समन्वय गर्दै मतदान केन्द्र र मतदानस्थलको सुरक्षा सुनिश्चित गर्न, थप मद्दतका लागि खटिने प्रहरी कर्मचारीको उचित व्यवस्थापन गर्न र आर्थिक अपराध तथा हुण्डी कारोबारमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन उनले निर्देशन दिए।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी र मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले पनि सुरक्षा व्यवस्थापन, आचारसंहिता पालना र मतदानस्थल सुरक्षा सम्बन्धी निर्देशन दिएका छन् ।

Leave Your Comment

Related News