CLI

मध्यपूर्व युद्धः नागरिकमाथि बढ्दो मारप्रति संयुक्त राष्ट्रसङ्घ स्तब्ध

जेनेभा । मध्यपूर्वमा तीव्र बन्दै गएको युद्धका कारण सर्वसाधारणमाथि परेको गम्भीर मानवीय असरप्रति संयुक्त राष्ट्रसङ्घले गहिरो चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले मङ्गलबार जारी सन्देशमार्फत क्षेत्रभरि फैलिएको डर, आतङ्क र अनिश्चितताले लाखौँ मानिसको जीवन असुरक्षित बनाएको बताएको छ ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उहाँकी प्रवक्ता रविना शामदासानीले उच्चायुक्त टर्क ‘गहिरो स्तब्ध’ भएको जानकारी दिइन् । उनले मध्यपूर्व मात्र नभई बाहिरका देशहरूमा समेत यस द्वन्द्वले सिर्जना गरेको मानसिक त्रास र अस्थिरता स्पष्ट देखिएको उल्लेख गरे ।

“लाखौँ मानिसले भोगिरहेको डर, आतङ्क र चिन्ता स्पष्ट छ – र यो अवस्था पूर्ण रूपमा टार्न सकिने थियो”, उनले भनिन् । शामदासानीका अनुसार, गत शनिबार इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि स्थिति झन् जटिल बनेको छ । त्यसको प्रतिक्रियास्वरूप इरानले क्षेत्रका विभिन्न राज्यविरुद्ध कदम चालेको र हिजबुल्लाहसमेत द्वन्द्वमा प्रवेश गरेको घटनाले नागरिक तथा नागरिक पूर्वाधारमाथि व्यापक प्रभाव पारेको उनले बताइन् ।

“स्थिति प्रत्येक घण्टासँगै बिग्रँदै र फराकिलो बन्दै गएको छ, जसले हाम्रो सबैभन्दा खराब आशङ्कालाई सतहमा ल्याइरहेको छ”, उनले स्पष्ट गरिन् । उच्चायुक्त टर्कले युद्धसम्बन्धी अन्तर्राष्ट्रिय कानूनको स्मरण गराउँदै नागरिक र नागरिक वस्तुहरू सुरक्षित राखिनुपर्ने दायित्व सबै पक्षको भएको दोहोर्‍याइन् ।

सबै राज्य तथा सशस्त्र समूहहरूले कानूनी दायित्वको पूर्ण पालना गर्नुपर्ने उनको आग्रह छ । उनले सबै पक्षलाई अधिकतम संयम अपनाउन, थप सैन्य विस्तार रोक्न र नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारको संरक्षणका लागि सम्भव सबै उपाय अवलम्बन गर्न आह्वान गरिन् ।

बढ्दो हिंसा र प्रतिशोधको चक्रले क्षेत्रीय स्थायित्वलाई मात्र नभई, मानवीय अवस्थालाई पनि झन् भयावह बनाउने चेतावनी दिइन् । “वार्ताको टेबलमा फर्कनु नै हत्या, विनाश र निराशाको अन्त्य गर्ने एक मात्र उपाय हो”, शामदासानीले उच्चायुक्तको भनाइ उद्धृत गर्दै भनिन्, “उच्चायुक्तले सबै पक्षलाई होशमा आउन र यो हिंसा अन्त्य गर्न आग्रह गर्नुभएको छ ।”

Leave Your Comment

Related News