CLI

निर्वाचन शान्तिपूर्वक भएको भन्दै सरकार र आयोगलाई कांग्रेसको धन्यवाद

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको भन्दै कांग्रेसले आभार, सम्मान र बधाई ज्ञापन गरेको छ ।

सभापति गगन थापाले एक विज्ञप्तिमार्फत् भनेका छन्– निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गर्दछु ।यहाँहरूको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ ।”

उनले केही स्थानमाबाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल भएको बताउँदै सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् । “केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छौं । निर्वाचन सफल बनाउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार र बधाई प्रकट गर्दछौं,” उनले भनेका छन्, “साथै, निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु भएका राजनीतिक दलहरू, सञ्चारकर्मी मित्रहरू तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”

Leave Your Comment

Related News