काठमाडौं । पूर्वाधारविद् सूर्यराज आचार्यले हालै सम्पन्न निर्वाचनको परिणामलाई भत्किएको जनविश्वासको उपजका रूपमा व्याख्या गरेका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले पुराना राजनीतिक दल र नेताहरूले जनताको मन भाँचिएको कुरा बुझ्न नचाहेको र अन्ततः मतदाताले मतपत्रमार्फत नै उनीहरूलाई सबक सिकाएको बताएका छन्।
चुनावका बेला बुद्धिजीवी र विश्लेषकहरूले पुरानै ढिपी र क्लिष्ट भाषा प्रयोग गरे पनि आम जनताले आफ्नो भावना स्पष्ट रूपमा व्यक्त गरिदिएको उनको तर्क छ। आचार्यका अनुसार लोकतन्त्रमा जनताको आकाङ्क्षा र भावना सधैँ सर्वोपरि हुन्छ। सत्ताको शक्ति र अहङ्कारले जनभावनालाई हेप्ने काम बन्द हुनुपर्नेमा उनले जोड दिएका छन्।
चुनावमा प्राप्त जनसमर्थनभित्र जनताका सपना र आशा लुकेकाले अबको नेतृत्वले डेलिभरी अर्थात् काम गरेर देखाउनु अनिवार्य रहेको उनले उल्लेख गरेका छन्। वर्तमान राज्य प्रणाली प्रभावकारी नभएको भन्दै उनले अबको राजनीतिमा संरचनात्मक परिवर्तन र इमानदारीको खाँचो औँल्याएका छन्।
राजनीतिको आगामी बाटो चुनौतीपूर्ण रहेको आचार्यको विश्लेषण छ। क्षमता र दक्षताको विकासका साथै भू-राजनीतिक चलखेललाई व्यवस्थापन गर्नु नयाँ नेतृत्वको मुख्य कार्यभार हुनेछ। दृढ राजनीतिक इच्छाशक्ति भएमा असम्भव केही नरहेको भन्दै उनले विजेताहरूलाई विनम्र र जिम्मेवार बन्न तथा पराजितहरूलाई सहयोगी भाव राख्न आग्रह गरेका छन्।
सबैमा राष्ट्रिय एकताको भावना जागृत हुनुपर्ने र कसैले पनि जनताको म्यान्डेटलाई हल्का रूपमा लिन नहुने उनको सन्देश छ।


