महोत्तरी। बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट मतदान गर्ने महिलाको सङ्ख्या बढी देखिएको छ । महोत्तरीमा पुरुषभन्दा ३९ हजार ८९ मतदाता कम भए पनि महिलाको सहभागिता बढी देखिएको हो ।
पुरुषभन्दा १३ हजार ५४५ बढी महिलाले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा रहेका चार लाख ३१ हजार २८२ मतदाता रहेकामध्ये महिलाको सङ्ख्या पुरुषभन्दा ३९ हजार ८९ कम छ ।
जिल्लामा कुल मत दुई लाख ५८ हजार १५७ मत खसेको थियो । मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रमा मतदानमा महिला सहभागिता बढी देखिएको छ ।
क्षेत्र नं १ ३४ हजार ५१५ महिला सहभागी भएका उनले उल्लेख गरे । क्षेत्र नं २ मा ३४ हजार ५७८, क्षेत्र नं ३ मा ३३ हजार ३७ र क्षेत्र नं ४ मा ३३ हजार ७२० जना महिलाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।
जिल्लामा सहभागिता १३ हजार ५४५ ले बढी रहेको उनले बताए । जिल्लामा मतदाता नामावलीमा महिलाभन्दा पुरुषको सङ्ख्या बढी भए पनि मतदानमा महिला बढी देखिनुमा पुरुष कामका लागि विदेश जानु मुख्य कारण रहेको सामाजिक अगुवा बताउँछन् ।
यसबीच बढेको राजनीतिक जागरण, महिला साक्षरता र सामाजिक एवं राजनीतिक गतिविधिमा बढ्दो महिला चासोले पनि यो अवस्था बनेको प्रयास महोत्तरी सामाजिक संस्थाका अध्यक्ष प्रवीण कर्णले बताए ।


