CLI

रोजगारी घटेसँगै अमेरिकाको बेरोजगारी दर ४.४ प्रतिशतमा पुग्यो

वाशिङ्टन । अमेरिकामा फेब्रुअरी महिनामा ९२ हजार रोजगारी घटेको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी श्रम तथ्याङ्क ब्यूरोले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार अघिल्लो महिनाको तुलनामा गैर–कृषि क्षेत्रको रोजगारी उल्लेखनीय रूपमा घटेको हो । पछिल्ला पाँच महिनामध्ये तीन महिनामा रोजगारी घटेको देखिएको छ, जसले श्रम बजारमा कमजोरी बढ्दै गएको सङ्केत दिएको छ ।

रोजगारी घटेसँगै बेरोजगारी दर पनि बढेर ४.४ प्रतिशत पुगेको छ । स्वास्थ्य सेवा क्षेत्रमा सबैभन्दा बढी असर परेको छ । एक ठूलो स्वास्थ्य बीमा कम्पनीमा भएको हड्तालका कारण मात्र यस क्षेत्रमा २८ हजार रोजगारी घटेको बताइएको छ । त्यस्तै, रेस्टुरेन्ट क्षेत्रमा ३० हजार तथा निर्माण क्षेत्रमा ११ हजार रोजगारी कम भएको छ, जसको कारण कडा चिसो मौसम र केही क्षेत्रमा परेको भारी हिमपातलाई मानिएको छ ।

यसैबीच सूचना सेवा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी खर्च कटौतीका कारण ११ हजार रोजगारी घटेको छ भने उत्पादन क्षेत्रमा पनि १२ हजार रोजगारी कम भएको छ । यद्यपि रोजगारी घटे पनि मजदुरी भने बढेको छ । औसत प्रतिघण्टा तलब मासिक रूपमा ०.४ प्रतिशत र वार्षिक रूपमा ३.८ प्रतिशतले वृद्धि भएको छ ।

अर्थशास्त्रीहरूका अनुसार हालको तथ्यांकले श्रम बजार अपेक्षाभन्दा कमजोर देखिएको संकेत गरेको छ । तथापि तत्काल ठूलो आर्थिक मन्दी आउने स्पष्ट संकेत भने नभएको उनीहरूको भनाइ छ । यसबीच अमेरिकी केन्द्रीय बैंकले ब्याजदरसम्बन्धी आगामी निर्णय लिनुअघि अर्थतन्त्रको अवस्थालाई नजिकबाट अध्ययन गरिरहेको बताइएको छ । साथै, इरानसँगको सम्भावित द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य बढेमा त्यसले अमेरिकी अर्थतन्त्रलाई थप दबाब दिन सक्ने विश्लेषकहरूको चेतावनी छ । —

Leave Your Comment

Related News