काठमाडौं । प्रतिनिधिसभाका निर्वाचित सदस्य बालेन्द्र शाहले आफ्नो निर्वाचन अभियानमा भएको खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। निर्वाचन आयोगमा दर्ता गरिएको विवरणअनुसार शाहले चुनावी अभियानका क्रममा विभिन्न शीर्षकमा गरी १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।
झापा जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका शाहका तर्फबाट निर्वाचन प्रतिनिधि नवीन भण्डारीले ०८२ फागुन २५ गते जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण दर्ता गराएका हुन्।
पेस गरिएको विवरणअनुसार दुईवटा सवारीसाधन १५ दिन सञ्चालन गर्दा इन्धनसहित २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको देखिएको छ। त्यस्तै, हवाई यात्रामा पाँचपटक गरी ३५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
मतदातासँग सम्बन्धित कार्यक्रमतर्फ ५८ जना सहभागी मतदाता प्रशिक्षण कार्यक्रममा खाजाका लागि २८ हजार ९७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। यस्तै १५ दिनसम्म सञ्चालन गरिएको घरदैलो तथा वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ।
प्रचारप्रसार सामग्रीतर्फ नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, प्रचार सामग्री (झन्डा र ब्याच) छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ तथा ब्यानर र स्टिकरमा एक लाख १९ हजार ८०८ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ। त्यस्तै झापा ५ क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनका लागि दुई महिनामा पानी तथा अन्य व्यवस्थापनमा एक लाख २० हजार रुपैयाँ र स्टेसनरी खर्च २२ हजार ८२० रुपैयाँ भएको उल्लेख गरिएको छ। यसका साथै मनोनयन दर्ता शुल्कबापत १० हजार रुपैयाँ खर्च भएको विवरणमा समावेश गरिएको छ।



